जनप्रतिनिधिलाई सामाजिक जवाफदेहिता प्रशिक्षण

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको बेलौरी नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत समितिका सदस्यहरु र वडा सचिवहरुलाई सामाजिक जवाफदेहिता सम्बन्धी प्रशिक्षण दिइएको छ । ग्रामीण विकास प्रशिक्षण केन्द्र डोटी र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा यही फाल्गुन २ गते देखि शुरु गरिएको ३ दिने प्रशिक्षण कार्यक्रम शनीबार समापन गरिएको छ ।

तालिम समापनका क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरीले स्थानीय स्तरमा रहेका सार्वजनिक निकायबाट सूचना माग्ने परिपाटीको विकास गरे पारदर्शितामा सहयोग पुग्ने बताउनु भयो । उहाँले सुशासन र पारदर्शिताका लागि स्थानीय स्तरका सबै निकायहरुले नियमित रुपमा सार्वजनिक सुनुवाई, नागरिक वडापत्र, सार्वजनिक परीक्षण, सूचना प्रवाह लगायतको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा सहभागीहरुले उक्त तालिमबाट नगरपालिकाको योजना छनौट देखि कार्यान्वयन गर्ने, नागरीकहरुका सवालहरुलाई उच्च स्थान दिने भन्ने विषयमा थप पृष्ठपोषण पाएको बताएका छन् । सामाजिक जवाफदेहिता सम्बन्धी ३ दिने प्रशिक्षण कार्यक्रममा बेलौरी नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत समितिका सदस्यहरु र वडा सचिवहरुको प्रशिक्षार्थीको रुपमा उल्लेख्य सहभागिता रहेको बेलौरी नगरपालिकाका कम्प्युटर अपरेटर अशोक पाण्डेयले जानकारी दिनुभयो ।