कर्णालीका १० जिल्लामा बाल हेल्पलाइनको सेवा

0
Shares

हिक्मत नेपाली, दैलेख ।
केन्द्रिय बाल कल्याण समितिको स्वीकृतमा दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा दैलेख जिल्लामा संचालित बाल हेल्पलाइन १०९८ (दश नौ आठ) सेवाको पहुँच कर्णाली प्रदेशका १० वटै जिल्लामा विस्तार गरिएको छ । आपत्तकालिन पैसा नलाग्ने बाल हेल्पलाइन फोन १०९८ (दश नौ आठ) मा अब देखि कर्णालीका १० वटै जिल्लाबाट फोन गर्न सकिनेछ ।

दुरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेलका सेवाग्राहीले कर्णालीका १० वटै जिल्लाबाट निशुल्क फोन गर्न सकिनेछ । नेपाल टेलिकमका सेवाग्राहीहरुले यो नम्बरमा फोन गर्दा दैलेख जिल्लाबाट मात्रै लाग्नेछ । बाल हेल्पलाइनको पहुँच यस अघि दैलेख जिल्लामा मात्र रहेको थियो । एनसेल प्रयोकर्ताहरुले बाल हेल्पलाइन १०९८ मा अब देखि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट फोन गर्न सकिने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष हीरासिंह थापाले बताउनुभयो ।

यस्तै यस अघि नेपाल टेलिकमका सेवाग्राहीले फोन गर्दा मात्रै निशुल्क रहेको हेल्पलाइन नम्बरमा अब देखि एनसेलबाट पनि निशुल्क हुने अध्यक्ष थापाको भनाई छ । दुरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेल र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख विच समझदारी भएसंगै अब एनसेलका सेवाग्राहीले बाल हेल्पलाइन १०९८ (दश नौ आठ) मा निःशूल्क फोन सक्नेछन् ।

बालबालिकाको आपत्तकालिन उद्धार, राहत संरक्षण र परामर्श सेवाका लागि संचालित बाल हेल्पलाइनमा नेपाल टेलिकम र एनसेलबाट फोन गर्दा पैसा नलाग्ने भएपछि कर्णालीका दुर्गम जिल्लाका नागरिकहरुलाई सहज हुने अध्यक्ष थापाले बताउनुभयो ।