असिनाले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध, जनजिवन प्रभावित (फोटोफिचर)

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।
करिव दुई दशक पछि शनिवार दिउँसो पानीसँगै परेको असिनाले सिन्धुलीको महाभारत तथा सुनकोसी क्षेत्र सेताम्यै भएर ढपक्क ढाकेको छ ।

जिल्लाको कमलामाई नगरपालिका २ स्थित ढुंग्रेभन्ज्याँग, ऐतिहासिक सिन्धुलीगढी ,सोलाभज्याँग, खनियाखर्क, चपौली, सुनकोशी गाउपालिकाका मझुवा, मतनबास तथा सुनकोसीगढतिर क्षेत्रमा पानीसंगै परेको असिनाले वीपी राजमार्ग र मध्य पहाडी लोक मार्गलाई समेत छोपेको छ ।

पानीसंगै आएको असिनाले वीपी राजमार्गलाई छोप्दा वीपी राजमार्गको सिन्धुली–नेपालथोक सडक खण्ड र मध्येपहाडी लोकमार्ग अन्तरगतको खुर्कोट–फिक्कल खण्ड समेत अवरुद्ध भएको हो ।

असिनाको कारण सडक क्षेत्रमा यातायात सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । त्यस क्षेत्रमा एक घण्टादेखि यातायातका साधनहरु अबरुद्ध भएका छन् भने गोलन्जोर, सुनकोशी, कमलामाईको महाभारत क्षेत्र, फिक्कल गाउपालिकाका स्थानीयको जनजिवन समेत प्रभावित भएको छ ।

असिनाको थुप्रोले गर्दा यातायातका साधनहरु चिप्लीने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिराखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका असही रामेश्वर पाण्डेले जानकारी दिए ।

अचानक परेको असिना पानीका कारण दुबै राजमार्गमा सवार झण्डै दुई हजारबढी यातायातका साधानहरु बाटोमै रोकिएका छन् । त्यस क्षेत्रमा चार इन्च देखि एक फुटसम्म असिना जमेको स्थानीयले जनाएका छन् । त्यस क्षेत्रमा झण्डै दुई दशक पछि पहिलो पटक यस्तो धेरैमात्रमा असिना पानी बर्षेको स्थानीय तथा कांग्रेसका नेता घनस्याम पहाडीले जानकारी दिए ।

उनले भने, “यस्तो असिना पानि धेरै वर्ष पहिला परेको थियो । अहिलेको असिनाले सडकनै अबरुद्ध हुने गरीपरेको छ । सडकमा सबै यातायातका साधनहरु रोकिएका छन् । गाउँघरमा जनजिवन प्रभावित बनेको छ ।”

स्थानीय जानकारहरुका अनुसार यति धेरै असिना २०३४ सालमा परेको थियो । त्यस यता यस्तो असिना पानि नपरेको धेरै वर्ष भएका्े भएपनि शनिवारभने भारीमात्रमा परेको छ ।

असिना पानिले त्यस क्षेत्रका कृषकहरुको तरकारी, आलु, फलफुल, तोरी, गाहुँ लगायतमा क्षेतीपुगेको छ । असिना पानिले अबरुद्ध वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग खुलाउँने प्रयत्न गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जनाएका छन् ।

“सडकमा बाक्लो असिना र चिप्लो भएकाले यातायातका साधनहरु सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनालाई मध्यनजर गर्दै असिना कम भएपछि मात्र सवारी साधनलाई गन्तब्यसम्म जान छाड्ने छौं,” उनले भने । जिल्लाको महाभारत र सुनकोसी गढतिर क्षेत्रमा मेगगर्जन सहित असिना पानी वर्सिरहेको छ ।

फोटोहरु