खप्तड क्षेत्रमा शेषनागको आगमन

0
Shares

पतञ्जलि–२१
प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला

लक्ष्मी नारायणबाट आशीर्वाद लिएर बिदा भएपछि शेषनाग सहस्र फणाधारी आफ्नो विशालकाय शरीरबाट आंशिकरूपमा अकाशचारी खेचर नाग भई त्यस वैकुण्ठलोकबाट मनुष्यलोकतर्फ लागे। समय नआईकन मानिसले चिताएर मात्र केही कुरा पनि सम्भव हुँदैन भन्छन्। उहिले भगवान् विष्णुले मत्स्यावतार लिएको बेला नाभिकमलमा बसेका ब्रह्माजीको स्वाध्याय र पारायण सुन्दासुन्दै शेषनागले ऋक्, यजुष् र सामका साथै अथर्ववेद र त्यसअन्तर्गत आयुर्वेदको पनि ज्ञान प्राप्त गरेका थिए। त्यसै हुनाले उनलाई आफूले त्यति बेला अध्ययन गरेका आयुर्वेदशास्त्रको युगानुकूल सम्पादन एवं परिष्कार गरेर आरोग्यकामी तथा रोगग्रस्त समाजको चिकित्सा गर्ने इच्छा जागेको थियो। यो कुरा त्यति बेला सत्ययुगमा सम्भव भएको थिएन। अहिले आएर कलियुगमा शेषनागको त्यो इच्छा पूर्ण हुने भयो।

त्यसैले शेषनाग वैकुण्ठबाट आकाशमार्गले जम्बूद्वीपको माथि पुगे। त्यहाँबाट भारतवर्षमा ओर्ले। हिमालय, पहाड र तराई तीनै थरी भूभागले सम्पन्न ऋषि, महर्षि र तपस्वीहरूको देश, हिमवत् देश आर्यावत्र्ततर्फ लागे। आर्यावत्र्त उनलाई साहै मन प¥यो। त्यहाँको मनोरम प्राकृतिक दृश्यको आनन्द लिँदै, उत्तर कोल्टिँदै शेषनाग एउटा सुरम्य पहाडको शिखरमा ओर्ले। खेचरनागका रूपमा आकाशचारी शेषनाग ओर्लेको त्यस पर्वतलाई अहिले पनि खेचरपर्वत अर्थात् खप्तड भनिन्छ, जुन नेपालमा पर्छ। हिउँले ढाकेका यी पर्वत र यिनका पाखाहरू समग्रमा हिमाद्रि हुन्, पुरातन ऋषि–महर्षिका तपस्थली हुन्। यिनै हिमाद्रिका गुफा–कन्दरामा अत्रि आदि ऋषिका आश्रम थिए।

खप्तड पर्वत हाल पश्चिम नेपालको बझाङ, बाजुरा, डोटी र आछाम जिल्लाको संगमस्थलको रूपमा चिनिन्छ। चारै जिल्लाको भूभागले स्पर्श गर्ने त्यो ठाउँ ती सबै जिल्लाको धार्मिक सांस्कृतिक तथा पर्यटकीय स्थल पनि हो। त्यहाँ अत्यन्त स्वच्छ एवं पवित्र जलले युक्त एउटा विशाल दह छ। यसलाई स्थानीय लोक व्यवहारमा खप्तड ताल ‘खापरदह’ भनिन्छ। त्रिवेणीनदी, सहस्रलिंग र केदारढुंगा आदि शिवसम्बद्ध शिलाहरू त्यहाँ अद्यापि छँदै छन्। अतः यसको प्रसिद्धि शैवतीर्थको रूपमा छ।
क्रमशः