भ्यालेन्टाइनलाई प्रदीप र जसिताको घाम जुन

0
Shares

लिली बिली जोडीका रूपमा चर्चित नायकनायिका प्रदीप खड्का र जसिता गुरुङले यस वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) का अवसरमा दर्शकलाई घाम जुन उपहार दिएका छन्।

प्रदीप र जसिताको निर्माणाधीन फिल्म लभ स्टेसनको पहिलो गीत चाहिँदैन घाम जुन प्रेम दिवसको उपहारका रूपमा अँएको हो। बँढा सुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलबाट प्रदीप र जसिताको यो गीत सार्वजनिक भएको हो। यो जोडीको दोस्रो फिल्म लभ स्टेसन आगामी २२ चैतबाट अल नेपाल रिलिज हुँदै छ।

भियतनामको विश्व चर्चित लोकेसनमा गत साता छायांकन गरिएको यो गीतको भिडियो प्रदीप र जसिताको अहिलेसम्मकै सुन्दर स्थानमा छायांकन गरिएको भिडियो सावित हुने विश्वास गरिएको छ। भियतनामको विश्वभर चर्चित लोकेसन दानाङ, बाना हिल, ड्राइगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेसियाको बालीमा यो गीतको छायांकन गरिएको हो। यो लेकेसनमा दर्जनौं हलिउड फिल्महरू छायांकन भइसकेको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए। गीतको मागअनुसार नै यी सुन्दर ठाउँमा छायांकन गरिएको शाहीले बताए। सुगम पोखरेल र रेश्मा पुन मगरले गाएको गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ। गीतसँगै भिडियो पनि उत्कृष्ट बनेको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले दाबी गरे।

नायक प्रदीप खड्काले विगतको भन्दा लभ स्टेसनमा आफ्नो काम केही पृथक भएको बताए। यो पारिवारिक तथा सांगीतिक प्रेमकथामा आधारित रहेको र अहिलेसम्मको काम प्रसंशनीय भएको उनको भनाइ छ। प्रसंशकका लागि भ्यालेन्टाइनमा यो आफँ र जसिताको सुन्दर र मीठो उपहार हुने विश्वास प्रदीपको छ। खड्काले यो गीत पनि लभ सङ भएकाले दर्शकलाई प्रणय दिवसको अवसर पारेर रिलिज गरेको जानकारी गराए। फिल्म पारिवारिक प्रेम कथासँगै लस्ट एन्ड फाउन्ड स्टोरीमा आधारित रहेको अभिनेता प्रदीपले जानकारी गराए। ‘लिली बिलीबाट दर्शकले साह्रै माया गर्नुभएको जसिता र मेरो जोडीलाई एकपटक पुनः लभ स्टेसनबाट त्योभन्दा सार्थकरूपमा पर्दामा यहाँहरुले देख्न पाउनुहुनेछ।’ –प्रदीपको भनाइ छ।

फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरू विष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु रानालगायतले अभिनय गरेका छन्। उज्ज्वल घिमिरेद्वारा निर्देशित फिल्म काफिया फिल्म्स्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरविक्रम शाहीले निर्माण गरेका हुन्। फिल्ममा आलोक शुक्लाको छायांकन, शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत रहेको छ।