गहुँबालीमा फौजी किराको प्रकोप, किसान चिन्तित

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
गहुँमा बाला लाग्ने समयमा बैतडीको पाटनमा फौजी कीराले गहुँबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाको गहुँ फल्ने मुख्य खेतको रुपमा रहेको पाटन सेरामा फौंजी कीराले गहुँबाली नष्ट गर्न थालेको किसान शंकरदत्त भट्टले बताए । खेतमा लगाएको गहुँ फौंजी कीराले पुरै नष्ट गरेको हो । |

पाटनको सेरोको नामले प्रख्यात खेतमा फौंजी कीराले गहुँमा आक्रमण गरेको गहुँको उत्पादनमा कमी आउने किसानहरुले बताएका छन् । गहुँबालीमा फौंजीकीराले आक्रमण गरेको बिषयमा जानकारी भएको र नियन्त्रणका प्रयास भईरहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

३५० हेक्टरमा लगाईएको पाटनमा ५० भन्दा बढी किसानको खेत रहेको सेरामा फौजीका कीराको प्रकोप देखिएको हो । गहुँबालीमा फौंजी कीराको प्रकोपका बिषयमा कृषि प्राविधिकहरुले अध्ययन गरेर माथिल्लो निकायमा पठाईसकेका छौं उनले भने“ गहुँमा बाला लाग्ने समयमा फौंजी कीराको प्रकोप देखिएकाले नियन्त्रण गर्न भने निकै कठीन हुनेछ ”

गहुँ फल्ने मुख्य खेतमा फौंजी कीराको प्रकोप देखिएकाले यो बर्ष गहुँ उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ ।

गहुँको उत्पादनमा वृद्धि गर्ने लक्ष्य सहित कृषि ज्ञान केन्द्र बैतडीले दार्चुला र बैतडीका विभिन्न ठाउँका किसानहरुलाई निशुल्क रुपमा उन्नत जातको गहुँको मूल बीउ वितरण गरेको छ ।

बैतडीमा २१ हजार ९ सय हेक्टर जमीनमा गहुँ खेती हुँदै आएको छ । पाटनमा गहुँमा फौजी कीराको प्रकोप देखिएपछि किसानमा भोकमरी हुने चिन्ता छाएको छ ।