२० दिनमै सकियो हरर घर

0
Shares

हरर कथामा निर्माणाधीन फिल्म घरको छायांकन २० दिनमा नै सकिएको छ। फिल्मको छायांकन सकिएको र उत्कृष्ट फिल्म बनेको दाबी यसकी निर्मात्री शर्मिला पाण्डेले गरेकी छिन्।

काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको फिल्म अभिनेता अर्पण थापाले निर्देशन गरेका छन्। फिल्ममा कथा पनि उनकै छ।
घरमा अर्पणका साथमा दुई नायिका बेनिशा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ। ‘यसपटक हामीले धेरै तयारी गरेकाले पनि छायांकन चाँडै नै सकियो। दिनरात नभनी काम गरेका छौं। फिल्मले दर्शकलाई मनोरञ्जन मात्र होइन, हरर कथामा बनेकाले दर्शकलाई छुट्टै खालको महसुस गर्न सक्दैनन् भन्ने आरोपलाई पनि तोड्नेछ।’

–निर्मात्री पाण्डेले दाबी गरिन्। फिल्म डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो। निर्माता निर्देशक दीपेन्द्र के खनाल र सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा निरज कँडेलको छायांकन छ। ‘यो फिल्मले दर्शकलाई तर्साउनेछ। हामीले कथावस्तुदेखि धेरै कुरामा मिहिनेत गरेका छौं। अब, भीएफएक्सको पनि काम धेरै छ। प्रदर्शन मिति चाँडै नै तोक्नेछौं।’ –निर्माता खनालले भने। फिल्ममा नायिका बेनिशा हमाल फरक गेटअपमा देखिनेछिन्। उनले आफ्नो गेटअपको विषयमा केही खुलाउन नमिल्ने बताइन्। नायिका सुरक्षा पन्त फिल्ममा अर्पणकी श्रीमतीको भूमिकामा देखिँदै छिन्।