विपीनको परी मोडल सृष्टि

0
Shares

म्युजिक भिडियो निर्देशक र सम्पादकका रूपमा स्थापित निशान कश्यप घिमिरेको निर्देशनमा म्युजिक भिडियोकै मोडल सृष्टि खड्कालाई नायिकाका रूपमा डेब्यु गराउँदै परी उड्न देऊ नामक फिल्म निर्माण हुने भएको छ। हालै राजधानीमा आयोजित एक समारोहबीच यो फिल्म निर्माणको घोषणा गरिएको हो।
निशान कश्यप घिमिरेको डेब्यु निर्देशनमा बन्ने फिल्ममा सृष्टिका साथमा अभिनेता विपीन कार्की प्रमुख भूमिकामा हुनेछन्। सृष्टि र विपीन फिल्ममा जोडीका रूपमा देखिनेछन्। अन्य कलाकार तथा प्राविधिक भने पक्का गरिसकिएको छैन। ‘लामो समय वर्कसप गर्नुपर्ने भएकाले अहिले नै फिल्म निर्माणको घोषणा गरिएको हो’, कार्यक्रममा निर्देशक घिमिरेले भने– ‘अरू कलाकार पनि चाँडै नै फाइनल गर्नेछौं।’

डेढ करोडको बजेटमा निर्माण हुने फिल्म आरएन आइकनको ब्यानरमा रूपेशमान अमात्यले निर्माण गर्न लागेका हुन्। फिल्मको परिकल्पनाकारसमेत रहेका निर्देशक घिमिरेले परीले संवेदनशील विषय उठाउने बताए। ‘एउटा उत्कृष्ट सिनेमा बनाउने इमानदार प्रयास गर्नेछौं। सिनेमा रमाइलो, पारिवारिक र सस्पेन्स थ्रिलर हुनेछ।’ –उनले भने। निपिल शर्माको कथा लेखन रहने फिल्म पुरुषोत्तम प्रधानले खिच्नेछन्। आगामी नयाँ वर्ष वैशाखपछि छायांकन थालिने फिल्मको छायांकन नेपालका साथै भारतको राजस्थानमा हुनेछ। म्युजिक भिडियोमा चिनिएकी मोडल सृष्टि खड्काले कथावस्तु राम्रो भएकाले काम गर्न लागेको बताइन्। ‘यसमा मलाई मेरो भूमिका मन प¥यो। त्यसैले अभिनय गर्दै छु। परीमा मेरो भूमिकालाई दर्शकले समेत मन पराउनेमा विश्वस्त छु। पहिलो फिल्ममै विपीन कार्कीजस्तो सफल कलाकारसँग काम गर्न पाउँदा उहाँबाट धेरै कुरा सिक्न अवसर पाउनेमा आशावादी छु।’ –सृष्टिले भनिन्।