हस्तकला र संस्कृतिको विकासमा सघाउन चीन तयार

0
Shares

ललितपुरमा चैत्र १३ देखि १७ गतेसम्म बृहत हस्तकला तथा सांस्कृतिक महोत्सव हुने

नेपाल समाचारपत्र
ललितपुर

ललितपुरको कला, संस्कृतिको विकासमा सघाउन चीनका सांस्कृतिक अध्येयताहरु तयार भएका छन् ।

वल्ड क्राफ्ट काउन्सिलबाट ललितपुर विश्वको ३५ औं कलाको नगरी घोषणा भए अनुरुप आवश्यक कार्यहरु अघि बढाउन उनीहरुले सहकार्य गर्ने इच्छा व्यक्त गरेका हुन् ।

निवृत प्राध्यापक सु हाओको नेतृत्वमा आउनुभएका चिनियाँ टोलीलाई बुधबार पाटन दरबार क्षेत्रमा स्वागत गरिएको थियो।ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले ढाकाको खादा ओढाई स्वागत गर्नुभयो ।

त्यसपछि भएको भेटघाटमा चिनियाँ टोलीले हस्तकला, संस्कृतिको प्रर्वद्धनका लागि सहकार्य गर्ने इच्छा व्यक्त गरेका थिए । वडाअध्यक्ष शाक्यले १६ वडा कला, मूर्त, अर्मूत संस्कृतिले भरिपूर्ण र ६० प्रतिशत भन्दा वडावासीहरु हस्तकला व्यवसायी रहेको अवस्थालाई मध्यनजर गरी बृहत कला तथा सांस्कृतिक महोत्सव गर्न लागेको जानकारी दिनुभयो।

यस विषयमा गृहकार्य अघि बढाउने पनि उनीहरुले प्रतिबद्धता व्यक्त गरेका थिए । गृहकार्य अघि बढाउन वडा र चिनियाँ टोलीबीच समन्वयको जिम्मा नेपाल हस्तकला महासंघका निर्वतमान अध्यक्ष धर्मराज शाक्यले लिनुभयो ।

‘हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव’ भन्ने नाराका साथ आउँदो चैत्र १३ देखि १७ गतेसम्म महोत्सव हुन लागिएको हो ।सो महोत्सवमा चिनियाँ टोलीको तर्फबाट चिनियाँ संस्कृति झल्किने दुई वटा स्टल राख्ने विषयमा पनि छलफल भएको थियो । सो अवसरमा महोत्सवमा १६ वडा लगायत ललितपुरमा हस्तकला, संस्कृति, धार्मिक दर्शनलाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता गर्ने पनि कुराकानी भएको थियो ।

 

निर्वतमान अध्यक्ष शाक्यले भन्नुभयो ‘ विश्वको ३५ औं कला नगरीको घोषणा अनुरुप ललितपुरमा आवश्यक कार्यहरु अघि बढाउन महोत्सव एउटा माहौल बनाउने छ । ‘त्यस माहोल अनुरुप कार्य अघि बढाउन दुई पक्षबीच सम्झौता गराउन आवश्यक पहलकदमी लिने छु ।’ शाक्यले भन्नुभयो ।

सो टोलीले विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रको अवलोकन गर्दै बखुम्बहालस्थित वरिष्ठ संस्कृतिविद् जोशीलाई भटेका थिए । टोलीको नेतृत्व गर्नुहुने प्राध्यापक सुहाओले जोशीबाट सन् १९६३ सालमा नेपाली र नेपाल भाषा सिक्नुभएको थियो । त्यतिबेला नेपाली भाषा सिकाउन जोशी पेकिङ्ग जानुभएको थियो ।

‘मलाई नेपाली भाषा सिकाउने गुरु हो, सत्यमोहन जोशी । त्यसैले नेपाल पुगेको दोस्रो दिनमा गुरु जोशीलाई भेट्न आएको हो ।’ प्राध्यापक सुहोओले आफ्नो टोलीका सदस्यहरुलाई परिचय गराउँदै भन्नुभयो ।

शताब्दी पुरुष भनेपनि सबैले आश्चर्य व्यक्त गरेका थिए ।भेटमा १ सय वर्षसम्म बाँच्नुको रहस्य के हो भने सोधेका थिए । उत्तर दिँदै जोशीले भन्नुभयो‘ चिन्ता नलिनु, चिन्तन गर्नु, जीवनलाई सक्रिय बनाउनु, जीवनमा प्राप्त भएको चिजप्रति सन्तुष्ट रहनु नै दीर्घायुको कारण हो ।

’जोशीसंगको भेटमा कलाकार अरनिको, जीवन सुखपूर्वक बाँच्ने दर्शन बारे कुराकानी भएको थियो । वरिष्ठ संस्कृतिविद् जोशी आगामी बैशाख ३० गते १ सय वर्षमा टेक्दै हुनुहुन्छ ।कला संस्कृतिमा उहाँको योगदानलाई कदर गर्दै महोत्सवमा उहाँलाई विशेष सम्मान गर्ने पनि अध्यक्ष शाक्यले सो चिनियाँ टोलीलाई जानकारी दिनुभयो ।

टोलीले हिरण्यवर्ण महाविहार गोल्डेन टेम्पलको पनि अवलोकन गरेका थिए ।नेपाल त्यसमाथि ‘पाटनप्रति मेरो पुरानो र आत्मिय नाता छ । ७५ वर्षीय प्राध्यापक सुहाओले भन्नुभयो ‘ यही नाताले नेपाल आएपछि पाटन पुग्ने हतार हुने गर्दछ ।’ टोलीमा आबद्ध अधिकाशं व्यक्तिहरुले पेशाले उद्यमी र व्यवसायी रहेका छन् ।

फुर्सदको समयमा संस्कृतिको संरक्षण, जीवन दर्शनको अध्ययन र प्रचारको लागि उनीहरुले द इष्टिच्यूसन अफ लाईफलोजी संस्था स्थापना गरेका थिए । सोही संस्थाको प्रतिनिधि गर्दै उनीहरु १३ दिनका लागि नेपाल आएका हुन् ।