जन्मकैद तोकिएका फरार पक्राउ

0
Shares

हेटौंडा, (नेस) । मकवानपुरको साबिक नामटार गाविस वडा नम्बर १, सीमभञ्ज्याङ गोलमोडमा हेटौंडा १, चौकीटोल बस्ने वर्ष ३० का विरोज लामाको हत्या अभियोगमा फरार रहेका थाहा नगरपालिका वडा नम्बर ३, घर्तीखोला बस्ने वर्ष ३९ को आशिष भनिने ईश्वर बिष्ट पक्राउ परेका छन् ।

२०६१ वैशाख ७ गते हेटौंडा २, चौकीटोल बस्ने विरोज लामा हिउँ खेल्न सीमभञ्ज्याङ गएकोमा सोही दिन उनलाई मकवानपुरको बसामाडी गाविस वडा नम्बर २ घर भएर हाल थाहानगर वडा नम्बर ३, घर्तीखोला बस्ने बिष्टसमेतले कुटपिट गरी मारेका थिए ।

उक्त अपराधमा मकवानपुर जिल्ला अदालतको २०६७ असार २० गते तथा पुनरावेदन अदालत हेटौंडाको २०६७ पुस २० गतेको फैसलासमेतले कर्तव्य ज्यान मुद्धामा जन्मकैद (२० वर्ष) सजाय तोकेको थियो ।

घटनापछि फरार रहेका उनलाई सोमबार इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले थाहानगर वडा नम्बर ३, शिखरकोट बजारबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएकोमा कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी पठाइएको छ ।