सवा करोडमा डिप ट्युबेल

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
एक करोड २१ लाख १७ हजार लागतमा हेटौंडामा निर्माण गरिएको डिप ट्युबेल सञ्चालनमा ल्याइएको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले डिप ट्युबेल सञ्चालनमा ल्याएको हो।

डिप ट्युबेल उद्घाटन गर्दै हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले खानेपानी बोर्डसँग मिलेर उपमहानगरपालिकाले हेटौंडाका सबै वडामा सुलभरूपमा खानेपानी व्यवस्था गर्ने बताउनुभयो।

पछि थपिएका वडामा पानीको समस्या भएकाले ती क्षेत्रमा खानेपानी उपलब्ध गराउन आफूहरू लागिपरेको मेयर महतले बताउनुभयो। खानेपानीका लागि अब नगर क्षेत्रमा ठूलो समस्या नरहेको उहाँले दाबी गर्नुभयो।

डिप ट्युबेल सञ्चालनमा ल्याइएपछि पानीको समस्या हटेको खानेपानी व्यवस्थापन बोर्ड अध्यक्ष प्रताप विष्टले बताउनुभयो। बोर्डले बोरिङ गर्न ३८ लाख ४० हजार, पाइपलाइन विस्तारमा ५४ लाख ६५ हजार, भवन निर्माण ९ लाख ६९ हजार, ११ लाख ३९ हजार लागतमा विद्युत् लाइन जडान र ७ लाख २१ हजार लागतमा अन्य फिटिङ सामग्री जडान गरी सञ्चालनमा ल्याएको हो।

टेन्डर प्रक्रियामार्फत् डिप बोरिङ भीमेश्वर डिलिङ उद्योग बुटवलले र पाइपलाइन खरिद तथा विस्तार कार्य सगुन कन्स्ट्रक्सन रुपन्देहीले गरेको थियो। नयाँ डिप बोरिङबाट दैनिक १२ लाख लिटर पानी उत्पादन हुने भए पनि बोर्डले दैनिक ४ लाख लिटर पानी वितरण गर्ने भएको छ।

उत्पादित पानी हेटौंडा–६ को चुच्चेखोला, शान्तिटोल, चौघडा बजार, बारुते, कुमलटार र हेटौंडा–१७ का राईटोल, गैरीगाउँ आदि क्षेत्रहरूमा वितरण गरिने बोर्ड सदस्य इन्द्र नेपालले बताउनुभयो।

५ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुने र तत्काल २ सय वटा नयाँ धारा उक्त क्षेत्रमा जडान हुने बोर्डले जनाएको छ। हाल बोर्डले आफ्नोे सेवा क्षेत्रभित्र हेटौंडा–३, ११, १२, १३, १८ र १९ नम्बर वडाबाहेक वडामा १६ हजार ५ सय ३१ वटा धाराबाट १ लाख चौध हजार लिटर खानेपानी बितरण गर्दै आएको छ।

नयाँ डिप ट्युबेलसँगै बोर्डले दैनिक करिब १ करोड ४० लाख लिटर खानेपानी वितरण गर्ने भएको छ।