आन्दोलन सफल बनाउन अध्यक्ष थापाको निर्देशन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका माग राखेर आगामी फागुन ७ गतेदेखि शुरू गर्ने जनसंघर्षका कार्यक्रमलाई भव्य बनाउन व्यापक तयारी शुरू गरेको छ।
यसअन्तर्गत फागुन ७ गते ७४ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत, प्रदेशहरूमा मुख्यमन्त्रीमार्फत र काठमाडौं उपत्यकामा तीनवटै जिल्लाका नेता, कार्यकर्ताहरू नयाँ बानेश्वरको एभरेस्ट होटलअगाडि जम्मा भएर नाराजुलुससहित माइतीघर मण्डलामा पुगेर कोणसभा गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ।

पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा प्रदेश नंं ३ का अध्यक्ष विक्रमबहादुर थापाको अध्यक्षतामा आज सम्पन्न बाग्मती अञ्चलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला अध्यक्षहरू, भातृ संगठनका पदाधिकारी तथा सदस्यहरू सम्मिलित बैठकमा अध्यक्ष थापाले आन्दोलन सफल बनाउन राप्रपाका सबै तहका नेता, कार्यकर्ता सक्रिय हुन निर्देशन दिनुभएको छ।

जनसंघर्षको सुरुआतको दिन फागुन ७ गते हिन्दू राष्ट्र पुनस्र्थापना, राजसंस्थाको पुनस्र्थापना, संघीय संरचनाको खारेजीलगायतका माग राखी देशभरि व्यापक जनसहभागिताका बीच प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै माग पूरा गर्न फागुन मसान्तसम्मको अल्टिमेटम दिने पार्टीले यसअघिनै कार्यक्रम तय गरिसकोको छ।
जनसंघर्षको निरन्तरतास्वरूप फागुन १५ मा ताप्लेजुङबाट शुरू भई कञ्चनपुर हुँदै ३० गते काठमाडौंमा समापन हुने ‘मेची–महाकाली स्वाभिमान यात्रा’को समापन समारोहमा ५ हजार कलश यात्रासहित शक्ति प्रदर्शन गर्ने तयारी राप्रपाले गरेको छ। सोही समापन समारोहबाटै दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक हुने राप्रपाले जनाएको छ।