मुक्त हलियाले गरे पुनस्र्थापनाको माग

0
Shares

बैतडी, (नेस)
बैतडीका छुट मुक्त हलियाहरूले आफूहरूको नाम तथ्यांकमा समेटी तुरुन्त पुनस्र्थापना गर्न माग गरेका छन्। जिल्ला सदरमुकाममा आज तथ्यांकमा छुट मुक्त हलियाहरूको अवस्थाका बारेमा गरिएको सामूहिक छलफलमा सहभागी मुक्त हलियाहरूले सरकारले आफूहरूलाई ठगेको बताएका छन्।

सरकारले मुक्त गरेपछि पनि आफूहरूको जीविकोपार्जनमा समस्या आएको उनीहरूको भनाइ छ। सरकारले मुक्त गरेर आफूहरूलाई अलपत्र छाडेको मुक्त हलियाहरूले बताएका छन्।

बैतडीमा करिब ५ हजार मुक्त हलिया भए पनि २ हजार २२ जना मात्रै तथ्यांकमा समेटिएको जिल्ला हलियामुक्ति समाजका अध्यक्ष रमेश कोलीले जानकारी दिनुभयो। अहिलेसम्म १ हजार ५ सय ५८ जनाले मात्रै मुक्त हलिया परिचयपत्र पाएका छन्। उनीहरूमध्ये १ हजार २ सय ३ जनाको पुनस्र्थापना भइसकेको छ। छुट भएका मुक्त हलियाहरूले आफूहरूको अवस्थाका बारेमा अध्ययन गरेर चाँडोभन्दा चाँडो पुनस्र्थापना गर्न दबाब दिएका छन्।

भूमी अधिकार मञ्च, जिल्ला हलियामुक्ति समाज, हलिया महासंघ, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, राष्ट्रिय दलित नेटवर्क, दलित महिला संघ ९फेडो० लगायतका संस्थाहरूले आयोजना गरेको सामूहिक छलफलमा मुक्त हलिया पुनस्र्थापना केन्द्रीय समितिका सदस्य राजुराम भुल र सरस्वती नेपालीको पनि सहभागिता रहेको थियो।
यस्तै सामूहिक छलफलका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले मुक्त हलियाहरूको समस्या समाधानका लागि सबैले गम्भीर हुनुपर्ने बताउनुभएको छ।