निर्मला हत्या प्रकरणः डीएनएको नमुना संकलन तीव्र

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अभियुक्त अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । तर खोजीमा नेपाल प्रहरी सक्रिय छ । पछिल्लो समय प्रहरी अधिकारी र अनुसन्धानमा संलग्न अधिकारी पनि अनुसन्धानबारे बोल्न चाहेका छैनन् ।

सुरुवातको चरणमा अनुसन्धानका कुरा बाहिर आउँदा विवाद भएपछि प्रहरी मौनतामै ‘गोप्य’ अनुसन्धानमा लागिरहेको छ । कञ्चनपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुवेरसिंह कडायत अनुसन्धान जारी रहेको तर हत्याराको पहिचान भईनसकेको बताए । घटनाको अहिले पनि कञ्चनपुर प्रहरी र केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)को टोली अनुसन्धानमा सक्रिय छ ।

पछिल्लो समय अनुसन्धानमा प्रहरीलाई स्थानीयले सहयोग गरिरहेको प्रहरी अधिकारीको भनाई छ । यसअघि प्रहरी अधिकारीले स्थानीयले प्रहरीलाई अनुसन्धानमा सहयोग नगरेको बताउँदै आएका थिए । प्रहरी स्रोतका अनुसार पछिल्लो समय प्रहरीले डीएनएको नमुना संकलन तीव्र रुपमा गरिरहेको छ ।

आसपासका गाउँका प्रत्येक स्थानीय वासिन्दाहरुका घरका सदस्यको बारेमा जानकारी समेत लिईरहेको छ । भीमदत्तनगर–२ उल्टाखाम, महुलिया, वडा नम्बर १९ बागफाँटा र वडा नम्बर १८ का प्रत्येक घरको विवरण प्रहरीले संकलन गरिरहेको छ । ‘‘घरमा बस्ने सदस्यहरुको संख्या उनीहरुले गर्ने काम । विगतको उनीहरुको पृष्ठभुमीको विषयमा विवरण संकलन गर्ने काम भईरहेको छ ।

प्रहरीले हालसम्म ५० जनाभन्दा बढी शंकास्पदको डीएनए परीक्षण गरिसकेको छ । तर, कसैको पनि डीएनए निर्मलाको शरीरबाट निकालिएको ‘भेजिनल स्वाब’सँग मेल खाएको छैन । अनुसन्धान टोलीले केही व्यक्तीलाई विशेष निगरानीमा राखेको बताइएको छ । उनीहरुको पहिचान खुलाईएको छैन् ।

गत साउन १० मा साथीको घरमा निस्किएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन् । गृह मन्त्रालयदेखि प्रहरीका भिन्नाभिन्नै टोलीले घटनाको अनुसन्धान र अध्ययन गरेपनि बलात्कार र हत्यामा संलग्नको पहिचान भने हुन सकेको छैन् ।