नेपाल समाचारपत्र, बाँके
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जले चालु आर्थिक वर्षमा आठ वटा मुद्दा दर्ता गरेको छ । आठमध्ये पाँच वटा मुद्दा बाँके जिल्लाको रहेको छ ।
सम्पर्क कार्यालय, नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, सिक्टा सिंचाई आयोजना बाँके, भेरी यातायात व्यवस्था कार्यालय बाँके, सशस्त्र प्रहरी बल नौबस्ता बाँके (काँडेतार खरिद कार्य), नौबस्ता डिप बोरिङ उभोक्ता समिति बाँके, त्रिभुवन मावि कोहलपुर रहेका छन् । सम्पर्क कार्यालयले पप्पुले बनाएको जब्दीघाट पुल निर्माण बर्दिया, साविक जिल्ला कृषि विकास कार्यालय दैलेख र नेपाल टेलिकम दूरसञ्चार कार्यालय दाङविरुद्ध मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७५÷०७६ को माघ २६ गतेसम्ममा सम्पर्क कार्यालयले आठ वटा ‘स्टीङ अप्रेसन’ गरेको छ । उक्त स्टीङ अप्रेसनमा १३ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ । अख्तियारले अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगञ्ज, गुलरिया नगरपालिका बर्दिया, इलाका प्रहरी कार्यालय मैनापोखर, राजापुर नगरपालिका बर्दिया, दाङमा आफूलाई वडाध्यक्ष बताउने व्यक्ति, भूमि सुधार तथा मालपोत कार्यालय बाँके, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेत, सव डिभिजन वन कार्यालय बाँकेमा स्टीङ अप्रेसन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा कार्यरत असईलाई केन्द्रीय कार्यालयबाट आएको टोलीले रंगेहात पक्राउ गरेको हो ।
अख्तियार सम्पर्क कार्यालय, नेपालगञ्जले आइतबार पत्रकार सम्मेलन गर्दै सबैभन्दा धेरै स्थानीय तहका उजुरी परेको बताएको छ । कार्यालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले स्थानीय तहका एक सय २७ वटा उजुरी रहेको बताए । शिक्षाका ७७, वनका ४९, भूमिमा ३०, गृहमा २२, स्वास्थ्य तथा जनसंख्यामा १३, भौतिक पूर्वाधार तथा यातायातमा १३, उर्जा जलस्रोत तथा सिंचाईमा ११, कृषि तथा पशुपंक्षीमा ११ वटा उजुरी परेका छन् ।
अख्तियार, नेपालगञ्जमा उजुरी पनि बाँकेकै बढी परेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जिल्लाको १ सय ७६ वटा उजुरी परेका छन् । त्यसमध्ये ३४ वटा उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिए । बर्दिया र दाङमा पनि उजुरी धेरै पर्ने जिल्लामा गनिएका छन् । यो अवधिमा बर्दियामा ८९ वटा उजुरी परेका छन् भने १६ वटाको प्रारम्भिक अनुसन्धान सकिएको छ । दाङका ८८ वटा उजुरी परेका छन् । नौ वटा उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न भएको छ ।
अख्तियारले सबै जिल्लामा निगरानी गरिरहेको जनाएको छ । कार्यालयका प्रमुख गैरेले अहिले गैरकानूनी सम्पत्ति आर्जन, प्राकृतिक स्रोत साधनको दोहन, सार्वजनिक सम्पत्तिको हिनामिना, घुस, विकास निर्माणका कार्यमा हुने गरेको अनियिमततामा फोकस गरेको बताए ।











प्रतिक्रिया