पत्रकारिता पुरस्कार वितरण

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील चार जना पत्रकारहरुलाई विभिन्न पुरस्कार दिइएको छ ।

नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार राजधानीमा भएको पा“चौं वार्षिक साधारण सभा एवं कार्यकारिणी सभाको अवसरमा सो पुरस्कार वितरण गरिएको हो ।

समाजसेवी सुरबहादुर श्रेष्ठले वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको नाउ“मा स्थापना गर्नुभएको वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार एवं नेपाल भाषाको साहित्यिक मासिक पत्रिका ‘थौ कन्हेका’ सम्पादक रुक्मणी स्थापितलाई प्रदान गरियो ।

त्यसैगरी नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले निकाला गर्नुभएका आठ भिक्षु मध्ये एक भिक्षु कुमारकाश्यप महास्थविरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गर्नुभएको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार राससका पूर्व प्रधानसम्पादक राजु शाक्यलाई प्रदान गरियो ।

त्यसैगरी ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउने कार्यको अग्रसरता लिनुभएका समाजसेवी मोतिशान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउ“मा स्थापना गर्नुभएको ज्ञानदेवी–मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार यस वर्ष बिबिसी नेपाली सेवामा कार्यरत चितवनका पत्रकार ईश्वर जोशीलार्ई प्रदान गरियो ।

त्यसै गरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापू हरेक वर्ष प्रदान गर्ने गरी स्थापना गर्नुभएको फोटो पत्रकारिता पुरस्कार ४० वर्ष गोरखापत्र दैनिकमा काम गर्नुभएका वरिष्ठ फोटोपत्रकार नातिकाजी महर्जनलाई प्रदान गरियो । उहा“ले सो राशि पत्रकार कल्याण कोषमा राख्ने घोषणा गर्नुभयो ।

पुरस्कृत व्यक्तित्वहरुलाई नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले खादा, नेपाल प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले माल्यार्पण र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रमाण पत्र प्रदान गर्नुृभयो । नगद पुरस्कार भने सम्बन्धित पुरस्कार दाताले प्रदान गरिएको थियो ।

सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल भाषाको पत्रकारिताको विकासको लागि महानगरपालिकाले ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै महानगरपालिकाको विकासको लागि स्वस्थ पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मातृभाषाको पत्रकारिताको विकास, विभिन्न जातीय समुदायबाट पत्रकार उत्पादन गनैे कार्यलाई स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्गले पत्रकारिता क्षेत्रलाई समावेशी बनाउन नेवार पत्रकार दबूसंगै फोनिजले राज्यको ध्यानाकर्षण गराउ“दै आएको बताउँदै समावेशीले राष्ट्रिय एकता, सामाजिक सद्भावलाई बलियो बनाउने धारणा राख्नुभयो ।

नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनको सभापतित्वमा भएको सो सभामा महासचिव सुनील महर्जन, सचिव केके मानन्धरलगायतले प्रेस स्वतन्त्रताको उच्चत्तम अभ्यासका लागि सञ्चारमाध्यम समावेशी भएर विभिन्न जातजाति र भाषाभाषीको आवाजलाई स्थान दिनुपर्ने र मातृभाषाको पत्रकारिताको विकासका लागि राज्यको ध्यान जानुपर्नेमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो ।

पत्रकार कल्याण कोषको स्थापना
सो अवसरमा पत्रकार दबुका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरु कुनै बिरामी, दुर्घटना वा कुनै समस्या उत्पन्न भए आर्थिक सहयोग प्राप्त गर्नका लागि १२ लाखको अक्षयकोष स्थापना भएको घोषणा गर्नुभयो ।

विभिन्न महानुभावहरुले दिएको ७ लाख रुपैया र काठमाडौं महानगरपालिकाबाट ५ लाख पाउने हिसाबले सो कोष स्थापना भएको घोषणा गरिएको थियो ।

महर्जनलाई आर्थिक सहयोग
मृगौला रोगबाट पीडित फोटो पत्रकार आशाकाजी महर्जनको उपचारको लागि हालसम्म १ लाख ९४ हजार ५ सय ६५ रुपैया“ संकलन भएको छ । पत्रकार दबूले शुरु गरेको आर्थिक सहयोग जुटाउने अभियानका क्रममा सो रकम सकंलन भएको हो । सो सभामा विभिन्न महानुभावहरुले पत्रकार महर्जनलाई १ लाख ३५ हजार ५ सय ५५ रुपैया“ प्रदान गरेका थिए ।