‘भ्यालेन्टाइन डे’ मा अनाथ विद्यार्थीलाई सामाग्री वितरण गरिने

0
Shares

काठमाडौं, (नेस) ।
भ्यालेन्टाइन डेको अवसरमा अनाथालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामाग्री र खाद्यान्न वितरण गरिने भएको छ । हरेक वर्ष फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेको रुपमा मनाइन्छ । यो दिन आगामी बिहीबार परेको छ ।

सानोठिमी क्याम्पसकी स्वतन्त्र विद्यार्थी युनियनको सदस्यसमेत रहनुभएकी पुजा फुयालले भ्यालेन्टाइन डेको अवसरमा धापासीको चाइल्ड स्ट्रेट टु स्कुलमा अध्ययनरत विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिने बताउनुभयो ।

‘यो पश्चिमी संस्कृति भित्रयाइएको छ, यो संस्कृतिभन्दा पनि विकृति हो’ फुयालले भन्नुभयो ‘यो दिनलाई सही सदुपयोग गर्नका लागि यस्तो अभियान सुरु गरेका हौं ।’ उहाँले कपी, पाठ्यपुस्तक, झोला, दाल , चामल र तेल वितरण गरिने जनाउनुभयो । कार्यक्रममा बालबालिकालाई खुशी पार्न केक पनि काटिने छ ।

भ्यालेन्टाइन डेको नाममा अनावश्यक खर्च गर्ने र सामाजिक परम्परामाथि विचलन ल्याउने काम भएकोमा दुःख लागेको भन्दै फुयालले आफूसहित अन्यको सक्रियतामा छलफल गरेर नै यस्तो अभियान चलाएको बताउनुभयो । ‘यो मात्र होइन अरु अवसरमा पनि यसरी नै सामाजिक क्षेत्रमा योगदान गरेका छौं ’ उहाँले भन्नुभयो ‘ कसैले सहयोग गर्ला भनेर आशा गरेका छैनौं, सहयोग पाइयो भने कार्यक्रमलाई झन् प्रभावकारी बनाउँछौं ।’