हुम्लामा चार दिनदेखि हवाई सेवा ठप्प

0
Shares

हुम्ला ।
दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ ।

बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो जमेका कारण हवाई उडान बन्द हुन पुगेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो । लगातारको हिमपातले सिमकोट विमानस्थलको हिउँ पन्छाउने कार्य शनिबारदेखि शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

विमानस्थलको हिउँ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एयरलाइन्सका कर्मचारीले पन्छाइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले बताउनुभयो । बाक्लो हिउँका कारण जिल्ला बाहिर जोड्ने एकमात्र हवाई सेवा सञ्चालन नहुँदा पाँच दिनदेखि यात्रुले आवतजावत गर्न पाएका छैनन् । शनिबार दिउँसो १ बजेदेखि विमानस्थलको हिउँ पन्छाउन थालिए पनि हवाई सेवा सञ्चालनमा ल्याउन अझै दुई दिन लाग्ने भएको छ ।

हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने यात्रु तथा नेपागञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी गर्न नसकिएकाले सिमकोटमा दैनिक उपभोग्य सामानको पनि अभाव देखिन थालेको उहाँले जानकारी दिनुभयो । खिरौला ९सेतो चिनी० चार दिनसम्म हवाई उडान बन्द हुँदा सिमकोट विमानस्थलमै थन्किएको छ ।
रासस