मनोज भट्ट, महेन्द्रनगर ।
भीमदत्त नगरपालिका तीन वडाका वासिन्दालाई खानेपानी सुविधा पुगाउन सिद्धनाथ बैजनाथ खानेपानी तथा सरसफाई आयोजना सञ्चालनका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।
भीमदत्त नगरपालिकामा बिहीबार आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष तथा सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र भीमदत्त नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ । आयोजनाका लागि नगर आयोजना सहमति पत्र र वित्तिय सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । नगर आयोजना सहमति पत्रमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, , नगर विकास कोषका सुभास राज पन्त र सिद्धनाथ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष करबीर ऐरले हस्ताक्षर गरेका छन् ।
यसैगरी वित्तिय सम्झौता पत्रमा नगर प्रमुख सुरेन्द्र विष्ट सहित आयोजना व्यवस्थापन कार्यालयका नारायण प्रसाद आचार्य, नगर विकास कोषका सुभास राज पन्त र सिद्धनाथ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष करबीर ऐरले हस्ताक्षर गरेका छन् ।
भीमदत्त नागरपालिका वडा नं। ८ मा २८ करोड ५० लाखको लगानीमा सहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजना अन्र्तगत खानेपानी आयोजना सञ्चालन हुन लागेको हो ।
यो आयोजनाबाट वडा नं। ८, ६ र १० का एक हजार सात सय ३० घरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । तीन वडामा १० हजार भन्दा बढी वासिन्दा खानेपानी सुविधाबाट लाभावान्तित हुने छन् ।
आयोजनाको सहमति पत्रमा हस्ताक्षरपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर वासिन्दालाई शुद्ध खानेपानी सुविधा पुगाउन आयोजना सञ्चालन गरिएको बताए ।
सिद्धनाथ खानेपानी आयोजना भीमदत्त नगरपालिकाको नगरको गौरबको आयोजना भएको उल्लेख गर्दै नगर प्रमुख विष्टले अन्य वडामा पनि खानेपानी आयोजना सञ्चालनका लागि सहकार्य गरिने बताए ।
भीमदत्त नगरपालिकाको घाडीघाँच क्षेत्र हिँउदे याममा पानीको ठूलो समस्यामा पर्ने क्षेत्र भएकोले आयोजना सञ्चालन भएपछि खानेपानीको समस्या समाधान भएर जाने बताए ।
खानेपानी आयोजना निर्माणपछि तीन वडामा स्वास्थ्य र सरसफाईको अवस्था सुधार हुने नगर प्रमुख विष्टले विश्वास व्यक्त गरे ।
तीन वर्षमा निर्माण कार्य पूरा हुने आयोजनाका लागि नगर विकास कोष, सरकारको अनुदान र उपभोक्ताको लगत सहभागिताबाट बजेट व्यवस्था गरिएको छ ।
आयोजनाका लागि नगर विकास कोषबाट ७ करोड १२ लाख ऋण र १९ करोड ९५ लाख सरकारको अनुदान छ । यसै गरी उपभोक्ताबाट लागत सहभागिता अन्र्तगत १ करोड ४२ लाख रकम संकलन गरिएको छ ।
आयोजनाका लागि उपभोक्ताबाट ५ प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण र बाँकी ७० प्रतिशत सरकारको अनुदान छ ।
२० वर्षे अवधिका लागि डिजाइन गरिएको यो आयोजनाबाट सन् २०३९ मा २१ हजार वासिन्दा खानेपानी सेवाबाट लाभावान्तित हुने अनुमान गरिएको छ ।
खानेपानी आयोजना अन्र्तगत तीन ओटा इन्टेक, ४ सय ५० घन मिटर क्षमताको ओभरहेड टयाङ्की, खानेपानी प्रशोधन केन्द्र प्रेसर फिल्टर एक हजार ९८ मिटर लम्बाईको प्रसारण लाइन, ५२ हजार ९ सय ४ मिटर र तीन वडामा एक हजार ७ सय ३० घर परिवारमा निजी धारा वितरण लाइन निर्माण गरिने वित्तिय सम्झौता पत्रमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया