नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुरको उत्तरी क्षेत्र थाहानगरको दामन तथा सीमभञ्याङ क्षेत्रमा शुक्रबार रातिबाट हिमपात भएको छ ।
रातिबाट हिमपात भएकोले डाँडाको टुप्पो सबै सेताम्मे देखिन्छन् । पानी परिरहेकोले हिउँ पखाल्ने सम्भावना देखिन्छ । मकवानपुरको उत्तरी क्षेत्र थाहानगरको दामन क्षेत्रमा प्रत्येक वर्ष पुस, माघ तथा फागुनमा हिमपात हुने गरेको छ । दामनमा हिउँ परेपछि मकवानपुरको हेटौंडासहित, चितवन, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाबाट हिउँ खेल्न लागि आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
शनिबार बिहान ६ बजेदेखि झन बाक्लो हिमपात भएको छ । शनिबारको हिमपात हालसम्मकै बढी हिमपात भएको स्थानीयले बताएका छन् । झण्डै आधा फिट बाक्लो हिउँ सडक तथा खुला क्षेत्रमा जम्मा भइसकेको छ । दामन तथा आसपास घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोंच, सडक सबै हिउँले सेताम्य बनेका छन् ।
बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बने पनि त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । ‘यतिधेरै हिउँ मैले यहाँ पहिलोपटक देखेको हुँ,’ स्थानीय विजय कार्कीले भन्नुभयो–हिउँ परेपछि यहाँ रमाउने पर्यटक धेरै आउँछन् । कोही हिउँमानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् ।
कोही हिउँ आकाशतिर फाल्दै हिमवर्षाको अनुभव सँगालिरहेका छन् ।
हिउँ परेपछि सडकमा आवतजावत गर्ने लामो दुरीका यात्रु बोक्ने सवारीसाधनमा भने कमी आएको छ । तर, हिउँसँग रमाउने पर्यटक भने बढ्दै गएका छन् । हिउँ तथा वर्षाका कारण त्यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् अभावमा पर्यटक तथा मोबाइल चार्ज गर्नेलगायत अन्य काममा अवरोध पुगेको छ ।
दामन तथा सीमभञ्ज्याङ घुम्न गएका पर्यटक विहानदेखि हिउँमा खेल्दै फोटो खिंच्दै रमाएका छन् । काठमाडौंबाट पहिलोपटक दामनमा हिउँ खेल्न आउनुभएका पवन थापाले हिमवर्षा भएको पहिलोपटक देखेको बताउनुभयो । फुसफुस झर्दै गरेको हिउँको अनुभव उहाँले आफ्ना साथीभाइसँग फोन र सामाजिक सञ्जालबाट साट्नुभयो । ‘कसरी हिउँ पर्ने रहेछ भन्ने पहिलोपटक देखें,’ उहाँले भन्नुभयो–हिउँसँग खेल्दा निकै रमाइलो लाग्यो ।











प्रतिक्रिया