चाँगु नगरपालिका २५ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सफल

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर
चाँगुनारायण नगरपालिकाले अपेक्षा गरेको भन्दा कम राजश्व संकलन गरेको छ । शुक्रवार शुरु भएको नगरपालिकाको चौथो नगरसभामा नगरपालिकाकी उपप्रमुख बिणा बाँस्तोलाले सो जनाकारी दिनु भएको हो । नगरसभामा चालू आवको ६ महीनामा भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख बाँस्तोलाले आन्तरिक राजश्व सङ्कलनतर्फ २५ प्रतिशत मात्रै राजश्व सङ्कलन गर्न नगरपालिका सफल भएको बताउनुभयो ।

नगरपालिकाले चालू आववमा १६ करोड ७८ लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य राखेकोमा ६ महीनामा चार करोड १६ लाख राजश्व सङ्कलन भएको जानकारी दिनुभयो । नगरसभामा नगरपालिकाले पहिलो छ महिनामा चालू खर्चतर्फ चार करोड नौ लाख खर्च भई २०.६६ प्रतिशत प्रगति भएको र सशर्त अनुदानतर्फ १४ करोड ३० लाख खर्च भई ४०.५८ प्रतिशत मात्रै प्रगति हासिल गर्न सफल भएको बाँस्तोलाले जानकारी गराउनुभयो । पूँजीगततर्फ भने आठ करोड ३० लाख खर्च भई २०.१५ प्रतिशत मात्रै प्रगति भएको छ ।

स्वास्थ्य, महिला विकास तथा बालबालिका, कृषि तथा पशु विकास, सुशासन एवं सूचना प्रविधि, वन तथा वातावरण, शहरी विकास, भौतिक पूर्वाधार निर्माण, घर नक्सा पास, विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनलगायत विषयमा नगरपालिकाले विशेष योजना अघि सारेको छ । न्यायिक समितितर्फ एक वर्षमा २८ मुद्दा दर्ता भएकामा २१ मुद्दा फछ्र्योट भएको छ । नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले नगरसभामा प्रस्ताव गरिएका विषयको दफाबार छलफल गरी मङ्गलबारसम्म सभा सञ्चालन गर्ने बताउनुभयो ।

नगरसभामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्ताव गरिएको छ । सभामा संशोधित विधेयक र प्रस्ताव गरिएका विधेयकमाथि सोमबारसम्म दफाबार छलफल गरी संशोधनका लागि लिखित सुझाव माग गरिएको मिश्रले बताउनुभयो ।

आगामी मङ्गलबार बस्ने सभाको बैठकले विधेयक पारित गर्ने नगर प्रमुख मिश्रले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सिनाका अनुसार, नगरपालिकाले बालुवा खानी सञ्चालनसम्बन्धी कार्यविधि २०७५, टोल विकास संस्था सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७५ निर्माण गरेको छ ।

नगरले बनाएका अन्य कानून तथा नीति नीयममा स्थानीय विपद् जोखिम व्यवस्थापन तथा जलवायु अनुकूलन सिकाइ केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिका, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५, व्यवसाय कर निर्देशिका २०७५, सरसफाइ तथा फोहर मैला व्यवस्थापन कार्यविधि २०७५ रहेका छन् ।

त्यसैगरी अनुदान तथा आर्थिक सहायता निर्देिशका २०७५, आन्तरिक आय ठेक्का बन्दोबस्त गर्न बनेको कार्यविधि २०७५, भवन निर्माण मापदण्ड, भवन इजाजत तथा घर नक्सा पास कार्यविधि २०७५ र आधारभूत तहको परीक्षा सञ्चालन कार्यविधि २०७५ समेत नगरपालिकाले निर्माण गरेको छ ।