गत साता करिब २२ अंकले घट्यो नेप्से

0
Shares

काठमाडौं, नेस
गत साता सेयर बजार परिसूचक नेप्से २२ दशमलव शून्य ६ अंकले घटेको छ । साताको पहिलो दिन आईतबार १ हजार १ सय ६१ दशमलव ६३ को विन्दुमा रहेको परिसूचक साताको अन्तिम दिन नेप्से परिसूचक १ हजार १सय ३९ दशमलव ५७ को विन्दुमा पुगेर बन्द भएको छ । गत साता सेन्सेटिभ ४ दशमलव १९ अंक घटेर २ सय ४२ दशमलव ६१ विन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स १ दशमलव ४६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १९ अंक घटेको छ ।

गत साता ५ कारोबार दिनमध्ये ४ कारोवार दिन नेप्से परिसूचक घटेको थियो भने एक कारोवार दिन मात्र नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको थियो ।

गत साता १ सय ८७ कम्पनीको २७ हजार ७ सय ३३ पटकको कारोबारमा १ अर्ब ५० करोड ७२ लाख ३६ हजार रुपियाँ बराबरको ५१ लाख १६ हजार ५ सय ३५ कित्ता सेयर खरिदविक्री भएको छ ।

गत साता कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । जीवन बिमा समूहको परिसूचक सबैभन्दा धेरै १ सय ८८ दशमलव २९ अंक घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक ९४ दशमलव १५ अंकले घटेको छ । उत्पादनमूलक समूहको ७९, जलविद्युत समूहको ४८ दशमलव ६७, होटल समूहको २६ दशमलव ९८, अन्य समूहको २३ दशमलव ४९, लघुवित्त समूहको १९ दशमलव ९१, विकास बैंक समूहको १६ दशमलव २१ र वाणिज्य बैंकको १२ दशमलव ९२ अंकले घटेको छ ।

अघिल्लो साता जस्तै यो साता सेयर बजारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा माथिल्लो तामाकोशीको शेयर परेको छ । त्यसैगरी दोश्रोमा नेपाल बैंकको सेयरको सबैभन्दा बढी किनबेच भएको छ । साथै गत साता हाम्रो विकास बैंकको बोनस शेयर र सिटि एक्सप्रेस फाईनान्स र सहारा विकास बैंकको हकप्रद शेयर गरेर ३५ लाख २१ हजार ८ सय ५८ कित्ता शेयर सुचिकृत भएका छ ।

गत साता कारोबार रकम र कारोबार संख्याका आधारमा अपर तामाकोशी अग्रपक्तिमा देखिएको छ । कम्पनीको गत साता ५ हजार ९ सय ७३ पटकको कारोबारमा १० करोड ४४ लाख ७७ हजार रुपियाँ बराबरको ४ लाख २६ हजार कित्ता सेयर खरिदविक्री भएको छ । सेयर संख्याका आधारमा भने गत साता माछापुच्छ्रे बैंकको संस्थापक सेयर अगाडि रहेको छ । सो बैंकको गत साता ५ लाख २२ हजार कित्ता संस्थापक सेयर खरिदविक्री भएको छ ।

गत साता सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य २५ दशमलव २९ प्रतिशत बढेको छ । त्यसैगरी, लक्ष्मी भ्यालु फन्ड १ को इकाईमूल्य ११दशमलव ११ प्रतिशत बढेको छ भने एनआईबिएल प्रगति फन्डको इकाईमूल्य ७दशमलव ८६ प्रतिशत बढेको छ । मेरो माइक्रोफाइनान्सको सेयरमूल्य गत साता सर्वाधिक ४५ दशमलव ९५ प्रतिशत घटेको छ ।