गाउँमा बैंक पुगेपछि सहज

0
Shares

बाजुरा ।
गाउँगाउँमा बैंक स्थापनासँगै आर्थिक कारोवार गर्न स्थानीयवासीलाई सहज भएको छ ।

स्थानीय तहमा बैंकले शाखा विस्तार गरी सेवा दिन थालेपछि दैनिक कारोवार गर्न सहज भएको हो । जिल्लाका नौ वटै स्थानीय तहमा बैंकका शाखा स्थापना भएका छन् । शहरमा केन्द्रित रहेका निजी बैंकहरु राष्ट्र बैंकको ताकेतासँगै गाउँगाउँमा पुगेका छन् ।

स्थानीय तहसँगको दैनिक आर्थिक कारोवार गर्ने सहमतिसहित बैंकहरु स्थापना गरिएको हिमालयन बैंक शाखा डोगडीमा कार्यरत कर्मचारी लोकेन्द्र रावतले बताउनुभयो । हिमालयन बैंकले खप्तड छेडेदह गाउँपालिकाबाट सेवा शुरु गरेको छ । गाउँमा बैंक स्थापनासँगै मार्तडी आएर कारोवार गर्नुपर्ने समस्या हटेको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले जानकारी दिनुभयो ।

बंैक स्थापनापछि गाउँपालिकासहित उपभोक्ता समितिका खाता खोल्नदेखि चेक साट्नुपर्ने सबै प्रकारका झन्झट हटेको अध्यक्ष रावतको भनाइ छ । बैंकले गत पुस १ गतेबाट सेवा सञ्चालन गरी डेढ महीनाको अवधिमा रु १० लाख बचत रकम उठाएको छ भने १५० भन्दा बढी ग्राहक खाता खोलिसकेको जनाएको छ ।

डोगडीमा शाखा स्थापनासँगै हिमालयन बैंकमा बझाङको खप्तड छान्ना गाउँपालिकाबाट पनि कारोवार गर्न शुरु गरिएको रावतले जानकारी दिनुभयो । साबिकका काँडा, जयबागेश्वरी, आटीचौर, डोगडी र गुदुखातीसहित छिमेकी स्थानीय तहलाई समेत कारोवार गर्न सहज भएको छ ।

सदरमुकाम मार्तडी आउँदा एक जनाको कम्तीमा रु एक हजार ५०० खर्च गर्नुपर्ने बाध्यता डोगडीमा बैंक स्थापनासँगै हटेको स्थानीयवासी अम्म नाथले बताउनुभयो । गाउँमा बैंक पुगेपछि तरकारी बिक्री गरेर पनि किसानले नगद जम्मा गर्न सक्ने अवसर जुरेको जनप्रतिनिधिको भनाइ छ । स्थानीय तहसँगै किसानले पनि खातामा रकम जम्मा गर्न शुरु गरेको छ ।
रासस