बुधबारको सांसद बैठकः प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा

0
Shares

गंगा बराल, (नेस) ।
बुधबारको प्रतिनिधिसभाको बैठकको सुरुमा नै गृहमन्त्रीसँग सांसदले प्रश्न गर्ने कार्यक्रममा सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा पर्नुभयो । मन्त्रीले ल्याएको जानकारी र तथ्यांकभन्दा पनि सांसदहरुले धेरै जानकारी मागेपछि मन्त्री अलमलमा परेर के जवाफ दिने भन्नेमा अन्यौलमा पर्नुभयो ।

सांसदहरुले आफनै स्थानबाट प्रश्न गरेका थिए । सांसदको प्रश्न सकिएपछि जवाफ दिन गृहमन्त्रीले अटेर गरेझैं गरेपनि जवाफ दिन बाध्य हुनुभएको थियो । प्रश्न अप्ठेरो भएको र सत्यतथ्य जवाफ के दिने भन्ने टुंगो नहुँदा सभामुख कृष्णबहादुर महराले पटकपटक मन्त्रीलाई जवाफ दिन आग्रह गर्नुपरेको थियो । सांसदहरुले निर्मला पन्त र भक्तपुरको काँडाघारीका ११ वर्षीय बालक निशान खड्काको हत्याको विषयलाई विशेष जोड दिएका थिए । मन्त्रीहरुलाई प्रश्न गर्दा पहिले नै प्रश्न टिपाउनुपर्ने हुन्छ । प्रतिनिधिसभाले सम्बन्धित मन्त्रालयसँग सांसदले प्रश्न गर्ने दिन छुट्याएको छ ।

मन्त्रीको जवाफ चित्त नबुझे पूरक प्रश्न गर्न पाउने व्यवस्था छ । गृहमन्त्रीले सबै घटनाको अनुसन्धान र छानबिन भइरहेको जवाफ दिनुभएको थियो । उहाँले संसदका यसअघिका बैठकमा नै धेरै जवाफ दिइसकेकाले पनि धेरै भनिरहनुनपर्ने भन्दै भरसक जवाफ नदिई टार्ने प्रयास गर्नुभएको थियो ।

कांग्रेस सांसद मीनेन्द्रप्रसाद रिजालले गृहमन्त्रीलाई जुनसुकै घटनाको अनुसन्धान पनि नजिक पुगेको भन्ने जवाफ आउँदा भयोचाँहि के ? भनेर प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै सरकारले ९६ प्रतिशत सफलता हासिल गरेको दाबी गर्नुभएको थियो । सांसद रिजालले संसदमा उठेका प्रश्नबाहेक अरु सफलता हासिल गरेको हो कि अरु पनि गर्न बाँकी छन् भन्दै व्यङ्यपूर्ण प्रश्न गर्नुभएको थियो ।

गृहमन्त्रीले सरकारले सबै किसिमका अपराध अन्त्य गर्न सरकारले पहल गरिरहेको बताउनुभयो । संसद्मा देबेन्द्रराज कडेल, डा. डिला संग्रौला, रामबहादुर विष्ट र घनश्याम खतिवडाले गृहमन्त्रीलाई मूल प्रश्न गर्नुभएको थियो । सांसद् विष्टले कृषि तथा पशुपंक्षी बिकासमन्त्री चक्रपाणी खनाललाई विषादीसहित खाद्यान्न, फलफुल तथा तरकारी कहिलेदेखि खान पाउँछन् भनेर प्रश्न गर्नुभएको थियो ।

बैठकमा महिला , बालबालिका तथा जेष्ठ नागरिकमन्त्री, बन तथा वातावरणमन्त्री र अर्थमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम समेत रहेको छ । केही समितिका प्रतिवेदन पेश गर्ने र केही विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुका साथै त्यसको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।