कुविण्डे पुगेर प्रचण्डले भने, ‘शिक्षा, स्वास्थ्योपचार र रोजगारी नपाए अदालत जानुस्’

14
Shares

नानीराम नेपाल, सिनधुपाल्चोक ।

शिक्षा, स्वास्थ्य र रोजगारीलाई संविधानले मौलिक हकका रुपमा स्वीकार गरिसकेको भन्दै पूर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले अब मुलुकमा कोहीपनि शिक्षा, स्वास्थ्य र रोजगारीबाट बञ्चित हुनुनपर्ने दावी गरेका छन् । बुधवार जनयुद्धको उद्गमस्थल कुविण्डेस्थित सेतिदेवी पञ्चकन्या माध्यमिक विद्यालयको ४२ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अध्यक्ष दाहालले नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा राज्यले लिने जिकिर गरे ।

‘तपार्इँका छोराछोरीले पढ्न पाएनन्, कसैले उपचार पाउनुभएन भने राज्य विरुद्ध मुद्धा हालिदिनुस’, अध्यक्ष दाहालले भने, ‘रोजगारी पाउनुभएन भने अदालत जानुस्, अदालतले सरकारलाई आदेश गर्नेछ ।’ सरकारले आम नागरिकले अनुभुति गर्नेगरि काम गर्न नसकिरहेको आरोप लागिरहेका बेला केपी वली नेतृत्वको सरकारले यसबीचमा तीनवटा महत्वपूर्ण काम गरेको उनले बताए । सरकारले दुई छिमेकी भारत र चीनसँगको अप्ठ्यारा समाधान गरेको उनले बताए ।

चीनसँगका ४ बन्दरगाहा विश्वब्यापारका लागि खुला भएको भन्दै उनले यसलाई सरकारको उपलव्धीका रुपमा प्रस्ट्याए । ‘चीनसँगका ४ बन्दरगाहाबाट नेपालले विश्वब्यापार गर्न पाउने भएको छ’, भारतबाट सजिलै सामान आउने अवस्था बनिसक्यो’, उनले भने । चीन र भारत दुवै देशतर्फ रेलमार्ग निर्माणको प्रक्रिया अघि बढेको पनि उनले बताए । असोज ३ मा सवै कानुनहरु ल्याएर सरकारले संवैधानिक संकटको खतरा टार्दै शिक्षा, स्वास्थ्य र रोजगारीका कुरालाई मौलिक अधिकारकै रुपमा व्यवस्था गरेको उनले बताए ।

‘समृद्धिको यात्रा सुरु भइसकेको छ, केहि तत्वहरु अतालिएर भ्रम फैलाइरहेका छन’, उनले भने ।

चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित यस विद्यालयमा कृषि क्याम्पस सञ्चालनका लागि पहल गर्ने उनले प्रतिवद्धतासमेत गरे । सिन्धुपाल्चोकसँग आफ्नो राजनैतिक सम्वन्ध मात्र नभई भावनात्मक सम्वन्ध नै रहेको भन्दै उनले जनयुद्ध, जुरे पहिरो र भूकम्पले सिन्धुपाल्चोकसँग भावनात्मक रुपमा नजिक बनाएको उनले बताए । ‘युद्धको अन्तिम तयारी भइरहँदा ०५२ सालमा आएँ, त्यसपछि जुरे पहिरो र भूकम्पमा म सिन्धुवासी जनतासँग सँगसँगै रहें’, उनले विगत सम्झिए । जनयुद्धमा कुविण्डेमा २४ जनाले ज्यान गुमाएका थिए ।

कुविण्डेका अखिल नेपाल युद्धका क्रममा राज्यपक्षबाट बेपत्ता बनाइएका थिए । विद्यालयको वर्षिकोत्शवका अवसरमा तत्कालिन जनयुद्धका सुप्रिम कमाण्डर एवम नेकपाका अध्यक्ष प्रचण्डले जनयुद्धमा ज्यान गुमाएका र बेपता बनाइएकाका परिवारलाई सम्मान समेत गरे ।