कुस्मा नगरपालिकाको औषधी खरिद टेण्डरमा मिलेमतो

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको कुस्मा नगरपालिकामा औषधी खरिद सम्बन्धी टेण्डरमा मिलेमतो भएको छ ।
टेण्डर दर्ता गर्न आएका ब्यबसायीलाई कब्जामा लिएर मिलेमतोमा तीन वटा मात्रै फर्म दर्ता गरिएको हो ।
नगरपालिकामा औषधी खरिदको टेण्डर बुझाउने अन्तिम समय मंगलबार दिउँसो १२ बजे सम्म दर्ता गर्न आएका ब्यबसायीलाई नियन्त्रणमा राखेर टेण्डर दर्ता गर्न नदिएको गुनासो ब्यबसायीले गरेका छन । नगरपालिकाबाट १३ वटा फर्म बिक्री भएपनि मिलेमतोमा ३ वटा फर्म मात्रै दर्ता भएको छ । रामलक्ष्मण फार्मेसी, चुनचुन फार्मेसी र माउण्ट पोखरा फार्मेसीका फर्म मात्रै मिलेमतोमा दर्ता भएका छन । नगरपालिकाले २६ लाख ५० हजार मुल्यको औषधी खरिदका लागि टेण्डर आब्हान गरेको थियो ।

 बिभिन्न औषधी बिक्रेताहरुले फर्म दर्ता नै गर्न नपाएको र आफ्नो प्रतिनिधी सुनिल केसीलाई कुटपिट गरि नियन्त्रणमा लिएर फर्म बुझाउन नदिएको गीताश्री मेडिसिनका सञ्चालक नितिन बस्नेतले बताउनुभयो । ‘ठेक्का दर्ता गर्न नदिने परम्परा जतासुकै छ’ उहाँले भन्नुभयो ‘तर कुटपिट समेत गरेर नियन्त्रणमा राख्ने काम मानवअधिकारको ठाडो उल्लंघन पनि हो’ गुण्डागर्दी शैलीमा भएको यस्तो घटनाले ब्यबसायी असुरक्षित भएको बस्नेतको भनाई छ ।

फर्म दर्ता गर्ने समय १२ बजे सम्म केसीलाई नियन्त्रणमा लिएर समय सकिएपछि मात्रै छाडिएको बस्नेतले दाबी गर्नुभयो । बस्नेतले आफ्ना प्रतिनिधीलाई अपहरण शैलीमा कब्जामा राखिएको र टेण्डर फर्म भर्न समेत नदिई कुटपिट गरेको बिषयमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई समेत टेलिफोन गरि जानकारी गराउनुभएको छ । ‘मैले सिडियो सापलाई पनि शान्ति सुरक्षा नपाएको बारेमा जानकारी गराएको छु’ उहाँले भन्नुभयो ‘आगामी दिनमा यस्ता घटना नदोहोरिरुन’ टेण्डर फर्म किनेका ड्रग इन्टरनेशनल, सिन्जा मेडिसीन, भिमदेवी मेडिसीन, गोसाईकुण्ड मेडिसीन लगायतका कम्पनीलाई  टेण्डर दर्ता गर्न अबरोध गरिएको थियो ।

कुस्मा नगरपालिकाले भने कार्यालयमा कसैको अवरोध नभएको र फर्म बुझाउन सहज वातावरण रहेको बताएको छ । नगरपालिकाका राजस्व शाखाका प्रमुख टेकनारायण सुबेदीले कार्यालयमा कुनै अबरोध नभएको र बिच बजारमै कसैलाई नियन्त्रणमा लिएको भए कार्यालयमा कुनै जानकारी नभएको बताउनुभयो । ‘कसैलाई अबरोध गरिएको भए  कार्यालयमा उजुरी गर्न सकिन्थ्यो’ उहाँले भन्नुभयो ‘मिलेमतो गरिएको पाइएमा टेण्डर रद्द हुन सक्छ’

जिल्ला प्रशासन कार्यालयबाट तीन सय मिटरको दुरीमा नगरपालिकाको कार्यालय छ । टेण्डर बुझाउने क्रममा प्रशासन र प्रहरीलाई खबर गर्नुपर्ने तर पिडीतले पनि ५ बजेको समयमा मात्रै खबर गरेको प्रमुख जिल्ला अधिकारी  गुरुदत्त ढकालले बताउनुभयो । ‘समय छदै खबर गरिएको भए शान्ति सुरक्षा र टेण्डर दर्ता गर्ने वातावरण बनाउन सकिन्थ्यो’ उहाँले भन्नुभयो ।