स्थायी राजधानी र नाम टुंगो नलाग्दासम्म प्रदेश सभा चल्न नदिने काङ्ग्रेसको चेतावनी

0
Shares

यमलाल भुसाल, बुटवल ।
प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरणको विषय टुंगो नलाग्दासम्म प्रदेश सभा चल्न नदिन भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलवारको प्रदेश सभा अवरुद्ध गरेको छ ।

सभामुख पूर्ण बहादुर घर्तिले बैठक शुरु भएको घोषणा गरे लगत्तै कांग्रेसका सांसदहरु आसनबाट उठेर आफुहरुको विरोध रहेको जनाउ दिएका थिए ।

सभामुखले विरोधको विषय पोडियमबाट राख्न अनुमति दिएपछि संसदीय दलका नेता बलदेव शर्माले प्रदेश ५ को नामाकरण र राजधानी टुंगो लगाउन बनेको विशेष समितिले प्रतिवेदन बुझाउनुपर्ने समयमा प्रतिनिधित्व नभएका जिल्लाहरुबाट सदस्य संख्या थप्ने चलखेल भएको भन्दै आफुहरुले प्रदेश सभा अघि बढ्न नदिने बताउनु भयो ।

लगत्तै सभामुख घर्तिले प्रतिपक्ष दलले उठाएको विषय बैठकको कार्यसूचीमा नरहेकाले विरोध जनाउन आवश्यक नभएको भन्दै आ–आफ्नो आसनमा वस्न आग्रह गर्नु भयो । तर कांग्रेस सांसदहरुले प्रदेश सभा चल्न नदिने अडान लिएपछि सभामूख घर्तिले यो विषयमा सत्तापक्षको धारणा राख्न नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका सचेतक भूमिश्वर ढकाललाई अनुमति दिएर बैठक अगाडी बढाउन खोज्नु भयो ।

कांग्रेस सांसदहरुले आफुहरुको विरोधका वावजुद वैठक अगाडी नबढाउन सभामुख घर्तिलाई दवाव दिएपनि सभामुखको अनुमति पाएपछि नेकपाका सचेतक ढकालले कांग्रेस सांसदहरुको होहल्ला र विरोधका वावजुद आफ्नो धारणा राख्नु भयो । विशेष समितिमा प्रतिनिधित्व नभएका जिल्ला वर्दिया,रुकुम र परासीबाट एक –एक जना सदस्य थप्दा समितिलाई काम गर्न सजिलो हुने धारणा आएकाले सभामुख समक्ष यो प्रस्ताव राखिएको धारणा ढकालको थियो ।

होहल्लाका वीच ढकालले वोलेपछि सभामुख घर्तिले सत्तापक्षले प्रस्ताव राखेपनि उक्त विषय बैठकको कार्यसूचीमा नरहेकाले नियमित वैठक सञ्चालनमा अवरोध नगर्न र उक्त विषयमा वाहिर सहमति गरेर निश्कर्ष निकाल्न आब्हान गर्दै वैठक अगाडी बढाउने प्रयत्न गर्नु भयो ।
सभामुखले जवर्जस्ती गर्न थालेपछि कांग्रेस सांसदहरु रोष्ट्रम घेराउका लागी रोष्टम अगाडी उभिनु भयो । सभामुखले वारम्वार आग्रह गरेपनि कांग्रेस सांसदहरुले नमाने पछि अन्ततः माघ २४ गते सम्मका लागि बैठक स्थगित भयो ।

विपक्षी दलका प्रदेशसभा सदस्य र सभामुख घर्तिबीच झण्डै पाँच मिनेट भनाभन भएको थियो ।
विपक्षी दलबाट १९ जना प्रदेश सदस्य रहेको प्रदेश नं ५ मा विपक्षी दलबाट १० जना प्रदेशसभामा सहभागि हुनुहुन्थ्यो ।
सभामुख घर्तिले् सत्तापक्षको धारणा आएपछि मात्रै विषयको टुंगो लाग्ने उल्लेख गर्दै स्थायी राजधानीको विषय राजनीतिक दलको विषय भएको बताउनुभयो ।

नेकपाका सचेतक ढकालले राजधानी कहाँ बनाउने भन्ने विषय राजनीतिक भएपनि प्रदेशसभाले टुंगो लगाउने बताउनु भयोे ।
“सरकारले सहमति चाहेकै छैन, उहाँहरुले दुइ तिहाईको सोच राख्नुभएको छ” संसदीय दलका नेता पोखरेलले भन्नुभयो ।

प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्वन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक र प्रदेश नं ५ तथ्यांक सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलवारको सभामा पेश हुने कार्यसुचि रहेको थियो ।