प्रताप बानियाँ, म्याग्दी, । म्याग्दीको सदरमुकाम बेनीबजारमा महिलाहरुको सामूहिक लगानीमा म्याग्दी लोकल मार्ट पसल सञ्चालन भएको छ । खासगरी स्थानीयस्तरमा उत्पादित अग्र्यानिक उत्पादनको प्रयोगमा जोड दिनका लागि लोकल पसल स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
गत आर्थिक वर्ष २०७४÷७५ को फागुन महिनाको २८ गतेबाट औपचारिक रुपमा स्थानीय उत्पादनहरु खरिद गरेर बिक्री वितरण सुरु गरिएको थियो । हालसम्म म्याग्दी लोकल मार्ट पसल सञ्चालनका लागि ३६ लाख रुपैयाँ लगानी भैसकेको छ भने मासिक रुपमा झण्डै १० लाख रुपैयाँ बराबरको सामानहरु खरिद बिक्री हुने गरेको म्याग्दी लोकल मार्ट पसलका सञ्चालक जमुना आचार्यले बताउनुभयो ।
ग्रामीण क्षेत्रका कृषकहरुलाई प्रोत्साहन गर्न, स्वरोजगार बनाउन र म्याग्दी जिल्लालाई लोकल उत्पादनको जिल्लाका रुपमा चिनाउने उद्देश्यसहित अग्र्यानिक उत्पादनहरु बिक्री गर्न पसल खोलिएको सञ्चालकहरु बताउँछन् । साविक धौलागिरी क्षेत्रको विभिन्न जिल्लाका गाउँगाउँमा उत्पादित स्थानीय उत्पादनहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिकरण गर्न, महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाएर आत्मनिर्भर बनाउन तथा अग्र्यानिक उत्पादनको वृद्धि गरी त्यसको प्रयोगमा पहुँच बढाएर मानिसलाई स्वस्थ जीवनयापन गराउने उद्देश्य राखिएको छ ।
म्याग्दी लोकल मार्ट पसलमा म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङ जिल्लामा उत्पादित विभिन्न प्रकारका स्थानीय उत्पादनहरुको बिक्री वितरण भैरहेको म्याग्दी लोकल मार्ट पसलका प्रवन्ध÷निर्देशक पुष्पा पुनले जानकारी दिनुभयो । हाल पसलमा विविध प्रकारका ७० थरी स्थानीय उत्पादनहरु बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो । लोकल उत्पादन खोज्दै ग्राहकहरु पसलमा आउने गरेका छन्भने कतिपयले फोनमार्फत नै सामानको अर्डर गर्ने गरेको प्रवन्ध निर्देशक पुनको भनाइ छ । बजारमा बस्ने अधिकांशले गाउँमा उत्पादन भएका अग्र्यानिक चिजहरु मन पराउने र खोजी–खोजी खान थालेका छन् ।
म्याग्दी लोकल मार्ट पसलको सञ्चालकहरुमा म्याग्दीको बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालसहित महिला अधिकारकर्मी जमुना आचार्य, महिला उद्यमीहरु सुगम श्रेष्ठ, अम्बिका श्रेष्ठ र पुष्पा पुनले लगानी गरेका छन् । उनीहरु आफै पनि म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका गाउँगाउँमा पुगेर स्थानीय उत्पादनहरु खरिद गरेर ल्याई बिक्री गर्ने गरेका छन्भने फोन सम्पर्कको माध्यमबाट पनि सामान बजारसम्म ल्याउने गरिएको छ । खरिद गरी ल्याइएको सासामानलाई महिलाहरु आफैले समय मिलाएर प्याकिङ गर्ने र स्टिकर टाँस्ने काम गर्दछन् । लोकल मार्टमा दैनिक करिब ३० हजार रुपैयाँको कारोबार हुने गरेको छ ।
लोकल मार्ट पसलबाट नेपालको विभिन्न जिल्लासहित विदेशस्थित हङकङ, जापान, युके र अस्टेलियामा उत्पादनहरु पुग्ने गरेको प्रवन्ध निर्देशक पुनले अनुभव सुनाउनुभयो । पसलमा सबैभन्दा धेरै मह, घिउ, टिम्मुर, लोकल चामल, च्याउको सुकुटी लगायतका उत्पादनहरु बिक्री हुँदै आएको छ । उक्त लोकल मार्टमा जौको पिठो तथा सातु, मकैको आटो, भटमास, सिमी, भाङ्गो, लोकल बदाम र भुजा, चुक अमिलो, सिरौंला, फापर–कोदो–गहुँको पिठो, ढकायो, मस्यौरा, तोरीको तेल, मुलाको धजरा, सिन्की जस्ता उत्पादनहरु पाइन्छन् ।
पछिल्लो समय मानिसहरुमा नसर्ने खालका तर गम्भीर प्रकृतिका रोगहरु बढ्दै जान थालेपछि उनीहरु पनि खानपान र व्यायाममा सचेत हुन थालेका छन् । उनीहरुले बजारको बसाई गरेपनि गाउँमा उत्पादित लोकल सामानको प्रयोगमा ध्यान दिने गरेका छन् । अहिले अर्गानिक उत्पादनको प्रयोगमा आकर्षण बढ्दै जान थालेको छ । जिल्लामा भ्रमण गर्ने तथा कुनै काम विशेषले अन्य ठाउँबाट म्याग्दी आउनेहरुले म्याग्दीमा उत्पादित अर्गानिक सामान खरिद गरेर लैजाने गरेको उद्यमीहरु बताउँछन् । गाउँगाउँमा उत्पादित सबै अर्गानिक र गुणस्तरीय सामानहरु लोकल मार्टमा नै पाइने भएपछि प्रयोगकर्ताको आकर्षण बढेको हो । उपभोक्ताहरु अर्गानिक उत्पादन खोज्दै लोकल मार्टमा पुग्ने गरेका छन् ।












प्रतिक्रिया