राप्रपा पनि देशव्यापी जनसंघर्षमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र पूर्नस्थापना लगायतका मागहरु राखी देशब्यापी रुपमा गर्न लागेको जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गर्ने भएको छ । दुईदिन देखि चलेको केन्द्रिय कार्यसमिति बैठकले अध्यक्ष कमल थापाद्धारा प्रस्तुत समसामयिक परिस्थिति र भावि कार्यदिशा सम्बन्धि राजनीतिक कार्यपत्र सर्वसम्मतले पारित गर्दै संघर्षका कार्यक्रलाई शसक्त बनाउने निर्णय गरेको हो ।

सोमबार सम्पन्न बैठकले पार्टीको मागहरुका बारेमा फागुन ७ गते उपत्यकामा प्रधानमन्त्री, प्रदेश राजधानीहरुमा मुख्य मन्त्री र जिल्ला सदरमुकामहरुमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । सनातन हिन्दुराष्ट्र पूनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, महिला विरुद्धको हिंसा, जातिय विभेद र छुवाछुत अन्त्यका लागि राप्रपाले आगामी फागुन १५ गतेदेखि ३० सम्म ताप्लेजुङ्ग देखि कञ्चनपुर हुँदै काठमाण्डौसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दैछ ।

राप्रपाले नेपाको इतिहासमै पहिलोपटक देश टुक्र्याउन चाहने विखण्डनकारी शक्ति सतहमा देखिएको भन्दै यस समूहले तराईका विभिन्न भागमा अराजकता सिर्जना गर्ने सम्भावना रहेको जनाएको छ । बैठकले राष्ट्रिय अखण्डताको रक्षा, सुरक्षा संवेदनशीलता जस्ता विषयमा गम्भिर बन्न, यस्ता गतिविधि कडाईका साथ नियन्त्रण गर्न र विखण्डनको गतिविधिमा दृढतापूर्वक उभिन सरकारसँग माग पनि गरेको छ ।

धर्म निरपेक्षताको आडमा लोभ लालच, प्रभोलन र भ्रम सिर्जना गरी संगठित र योजनावद्ध रुपमा भईरहेको धर्म परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै राप्रपाले पछिल्लो समय हिन्दु, बौद्ध, किराँत धर्मावलम्बीहरुको जवरजस्ती ढंगबाट धर्म परिवर्तन गराइएको छ र यो कार्य निरन्तर जारी रहेको जनाएको छ । राप्रपा कार्यसमिति बैठकले धर्म परिवर्तनको गतिलाई निस्तेज र नियन्त्रण गर्न, सदियौदेखिको नेपाली समाजमा कायम रहँदै आएको साँस्कृतिक एकता र सदभाव खल्बलिन नदिन र देशलाई धार्मिक द्वन्द्वको दलदलमा फस्नबाट जोगाउन उपयुक्त कदम चाल्न सरकारसाग माग गरेको छ ।

विदेशका विभिन्न बैंकहरुमा गैरकानुनी रुपले अवैध सम्पत्ति लुकाउने र नेपालबाट पठाइएका काला धनलाई विदेशमा लगि लगानीका रुपमा नेपाल फिर्ता ल्याई सेतो बनाउने धन्दा चलिरेको भन्दै राप्रपाले नेपाल बायु सेवा निगमको वाइड बडि जहाज खरिद प्रकरण, ३३ केजी सुनकाण्ड, एनसेल करछली प्रकरण, बुढिगण्डकी परियोजना काण्ड लगायत आर्थिक अपचलन र ठूला भ्रष्टाचारका दर्जनौ काण्डहरु बारे सनसनीखेज तथ्यहरु सार्वजनिक हुदा पनि सरकारले कुनै चासो नदेखाएको आरोप लगाएको छ ।

राप्रपा बैठकले सम्पुर्ण प्रकरणको यथार्थ छानविन गर्न, अवैध सम्पत्ति जफत गर्न, दोषीलाई कडा कारबाही गर्न र सुशासनको प्रत्याभूति दिलाउन सरकारसँग माग पनि गरेको छ ।

राप्रपा केन्द्रिय कार्यसमिति बैठकले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने क्रममा हिन्दुराष्ट्र र राजसंस्थाप्रति प्रतिवद्ध समान विचारधारा भएका दलहरुलाई एकताका लागि आब्हान पनि गरेको छ ।