नकपा सचिवालय बैठकमा भेनेजुयलाबारे छलफल, नेपालको अडान कायमै रहने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले भेनेजुएला प्रकरणबारे पार्टीले यसअघि राखेको धारणा नै आधिकारी भएको स्पष्ट पारेको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको नीति अनुरुपनै धारणा सार्वजनिक भएको हुँदा त्यसको कुनै खण्डन नभएको बताए । श्रेष्ठले भने ‘कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।’

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ गते माघमा विज्ञप्ति जारी गर्दै भेनेजुएलामा अमेरिकाको हस्तक्षेप भएको भन्दै विरोध जनाएका थिए ।

त्यसपछि अमेरिकाले भेनेजुलाएला प्रकरणमा नेपाल सरकारको आधिकारिक धारणा माग्यो । परराष्ट्र मन्त्रालयले कूटनीतिक भाषामा तर, प्रचण्डकै भावमा वक्तव्य जारी गर्‍यो ।
कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधानअनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने सरकारको वक्तव्य थियो । लगतै सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर ब्रिफिङ गरेको थियो । तर, अमेरिकी राजदूत उक्त ब्रिफिङमा उपस्थित थिएनन् ।

विपक्षी नेपाली कांग्रेस लगायत विभिन्न क्षेत्रबाट भेनेजुएला प्रकरणमा नेकपा र सरकारको आलोचना भएको थियो ।