धानको बाहानामा कपडाको तस्करी

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा प्रहरीले तस्करी गरेको अभियोगमा कपडा बरामद गरेको छ ।
जिल्लाको ठोरी नाकाबाट प्रहरीले ३० लाख ५५ हजार पाँचसय रुपैयाँको कपडा बरामद गरेको हो । भारतबाट भन्सार छली ल्याइ चितवनको माडीतर्फ लैजाँदै गरेको अवस्थामा ठूलो परिमाणमा कपडा बरामद भएको हो ।

पर्साको ठोरी गाउँपालिका २ बाट १०५ बोरा धान लोड भएको लु१ख ३३१० नम्बरको ट्रकमा अबैध रूपमा भन्सार छली चोरी पैठारी गरी कपडा लैजाँदै गर्दा विशेष सूचनाको आधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा ट्रकबाट थान कपडा १९ पोका, कूर्ता सुरुवाल ३०४ पिस, सर्टिङ्ग ३ हजार २ सय ८० मिटर र सुर्टिङ्गका कपडा ६०० मिटर, कूर्ता कपडा २ हजार ६० मिटर र साडी ८८ पिस बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन आयोजना गरेर बरामद भएको समान र पक्राउ परेका मानिसहरुको बारेमा सोमबार जानकारी दिइएको थियो ।पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले ट्रक मालिकसहित तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।चितवनको माडी नगरपालिका २ बस्ने ट्रक धनी ४४ वर्षीय ऋषि सुवेदी, सोही ठाउँ बस्ने ट्रक चालक २६ वर्षीय प्रकाश दराई र सह चालक १९ वर्षीय सुजन दराइ पक्राउ परेका हुन् ।तस्करीको लाइन दिएर प्रहरी, सशस्त्र प्रहरी र भन्सारसँगकै मिलेमतोमा तस्करी हुने गरेको आरोप लाग्ने गरेको भएपनि पछिल्लो समयमा प्रहरी र सशस्त्र प्रहरीले धमाधम अवैध ओसार प्रसारलाई नियन्त्रण गरिरहेको छ ।

यसअघि गत माघ १३ गते सशस्त्र प्रहरीले धान लोड भएको ट्याक्टरमा लुकाएर ल्याउँदै गरेको ६० लाख मुल्य बराबरको अवैध कपडा बरामद गरेको थियो ।प्रहरी उपरीक्षक ढकालले तस्करी गर्न पल्केकाहरुले नयाँ नयाँ उपाय लगाएर तस्करी गरिरहेको हुन सक्ने बताए । तस्करी गर्नेहरुले समय समयमा रुट र तरिकाहरु परिवर्तन गर्नु सामान्य भएको उनको भनाइ छ ।