ट्राफिक चेकिङको नयाँ शैली, कागजपत्र नहेरी मेकानिक्स राखेर पाटपुर्जा जाँच

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
ट्राफिक प्रहरीले सवारी चेकजाँच भनेपछि कागजपत्र दुरुस्त छन कि छैनन भनेर पहिला हेर्छ, अनि सवारी साधनमा क्षमता भन्दा बढी यात्रु सवार छन छैनन भनेर दोस्रो नजर लगाउँछ । यति भएपछि सडकमा गुडिरहेका भाडाका बस, जीप, माइक्रोबस तथा ट्याक्सी सम्मले छुट पाउँछन । तर सवारी साधनको कण्डिसन कस्तो छ भनेर धेरै ट्राफिक प्रहरीको आँखा पुग्दैन ।

सवारी जाँचका नाममा कागजपत्र हेरेर सवारी साधन छोड्ने गर्दा दुर्घटना बढेपछि सवारी साधनको कण्डिसन हेर्न थालेको छ पर्वत ट्राफिकले । ट्राफिक प्रहरीले अनुभवी मिस्त्रीलाई लिएर नियमित रुपमा सडकमा गुड्ने सवारी साधनको पाटपुर्जा र्हेन थालेको हो ।

माघको पहिलो साता बेनीबाट नारायणगढ हिडेको बस पर्वतको मालढुंगामा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको थियो भने ३५ जना भन्दा बढी यात्रु घाइते भएका छन । बस दुर्घटना हुनुको मुख्य कारण पट्टा भाँचिएको गाडी मर्मत नगरि चलाएको पाइएको थियो । त्यसपछि ट्राफिक प्रहरीले पाटपुर्जा चेकजाँट गरेर राम्रो अवस्थामा रहेको सवारी साधन मात्रै गुडाउने वातावरण बनाउन लागेको बताएको छ । ट्राफिक प्रहरीले आइतबार देखि पर्वतको शिबालयचोकमा अनुभवी मिस्त्री राखेर पट्टा भाँचिएको छ छैन, नट कस्सिएका छन छैनन, ब्रेकको अवस्था कस्तो छ भनेर र्हेन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले बताउनुभयो । ‘ट्राफिक प्रहरीले गाडीको कागजपत्र हेरेर छाड्दा धेरै सवारी साधनहरु मर्मत संभार नगरि चल्ने र दुर्घटना भैरहने खतरा देखियो’प्रमुख गौलीले भन्नुभयो ‘गाडीको सबै पाटपुर्जा हेर्न थालेपछि चलाउनै नहुने अवस्थामा पुगेका बस र माइक्रोहरु लामो दुरीमा समेत चलेको पाइयो ।’

आइतबार बहान साढे ८ बजेदेखि साढे १० बजेसम्म कुश्मा नगरपालिका ६ शिवालय चोकमा प्राबिधिक सहित पुगेको ट्राफिक प्रहरीको टोलीले ५५ ओटा सवारी साधनहरुको अवस्थाका बारेमा परीक्षण गरेको थियो । चेकजाँचका क्रममा बिभिन्न ८ ओटा सवारी साधनहरु ठीक अवस्थामा नरहेको पाईएको छ ।

कतिपय सवारीको ३ ओटा र केहीको त्यो भन्दा कम पट्टाहरु भाँचिएको, तेलको ट्याङकी भुईँमा खस्न लागेको र टाईरेक्ट बीम अर्थात स्टेरीङ घुमाउँदा टायर मोड्ने डण्डीको नटहरु खसेर सवारी दुर्घटनाको उच्च जोखिममा रहेको पाईएको छ ।ठीक अवस्थामा नरेहका सवारी साधनहरुलाई कारबाही स्वरुप राजश्व तिराईएको र तुरुन्त मर्मत गर्न लगाईएको पनि ट्राफिक प्रहरी प्रमुख गौलीले बताउनुभयो । ठीक अवस्थामा नरहेका सवारीका यात्रुहरुलाई अन्य सवारीमा सारेर गन्तब्यमा पठाईएको थियो ।

यसरी यात्रु झारेर पठाउँदा सवारी धनीहरुको तीब्र दबाब भएपनि यात्रुहरुले ज्यान बचाईदिएकोमा ट्राफिक प्रहरीलाई धन्यबाद दिन थालेका छन । यो अभियानलाई अब हरेक हप्ता निरन्तरता दिइने ट्राफिक प्रमुख गौली बताउनुहुन्छ । लामो दुरीमा चल्ने बसले नियमित परिक्षण गरेर मात्रै सडकमा गुडाउनुपर्ने हुन्छ भने ग्रामिण सडकमा चल्ने सवारी साधनका धेरै नट खुस्कने, पट्टा भाँचिने समस्या हुन्छ । यस्तो अवस्थामा चेकजाँच गरेर चलाउन सके धेरै दुर्घटनामा कमि ल्याउन सकिने ट्राफिक प्रहरीको भनाई छ ।