नेपाल समाचारपत्र, काठमाडौं । भेनेजुयलामा विकसित राजनीतिक अवस्थाप्रति चासो राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अमेरिकाको समर्थन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारले निकालेको वक्तव्यको आलोचना गरेको छ ।
नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ कम्युनिस्ट पार्टीका अध्यक्ष र सरकार स्वयंले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरीत रहेको पनि नेपाली कांग्रेसले जनाएको छ । सरकार र सत्तासिन दलले भेनेजुयलाको पक्षमा गरेको समर्थनप्रति काग्रेसले असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासिन रहेको भन्दै आपत्ति आपत्ति जनाएको छ ।
कांग्रेस सभापति शेरवहादुर देउवाको अध्यक्षतामा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेपालको विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको बताउँदै सरकारले कुनै सम्बन्ध नरहेको भेनेजुयलाको पक्षपोषण गर्नु गलत भएको ठहर गरेको हो ।
‘नेपालको विकासका लागि झन्डै ६५ वर्षभन्दा समयदेखि लगातार आर्थिक सहयोग पु¥याउँदै आएको एक पुरानो र भरपर्दो मित्र संयुक्त राज्य अमेरिकाले आज पनि हाम्रो मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माण क्षेत्रमा अत्यन्त उल्लेखनीय सहयोग पु¥याइरहेको छ’ –कांग्रेसले भनेको छ । अमेरिकाद्वारा मिलेनीय च्यालेन्ज कर्पोरेसन अनुदानमार्फत भौतिक पूर्वाधार विशेषत विद्युत् लाईन निर्माणका लागि निकै नै ठूलो सहयोग राशी नेपाललाई प्राप्त भएको कांग्रेसले जनाएको छ ।
आगामी दिनमा पनि नेपालको आर्थिक विकास, त्यसका लागि आवश्यक आर्थिक र कुटनीतिक सहयोगको क्षेत्रमा संयुक्त राज्य अमेरिकाको सकारात्मक भूमिका महत्वपूर्ण रहने भन्दै कांग्रेसको विश्वास छ । कांग्रेसले भनेको छ– ‘नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष र सरकार स्वयंले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरीत छ । ’
कांग्रेस संसदीय दलको बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेशअनुरुप नै वर्तमान सरकारले डा. गोविन्द केसीसँग सम्झौता गरेकोमा पछि तोडमोड गरी अध्यादेश र सम्झौताविपरीत जबरजस्ती संसद्बाट पास गरेको विधेयकलाई अध्यादेश एवं सम्झौताबमोजिम सच्चाउनका लागि नेपाली कांग्रेस निरन्तर लागि रहने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभएको छ ।
आज देशभर विरोध प्रदर्शन
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध आज सोमबार देशभर विरोध प्रदर्शन गर्दै छ । देशव्यापी विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन कांग्रेसले सबै जिल्लाको तयारी पूरा गरेको जनाएको छ । ७७ वटै जिल्लामा एकैपटक गर्न लागेको विरोध प्रदर्शनमा सहभागी हुन केन्द्रीय सदस्यहरुलाई पनि सबै जिल्लामा खटाएको छ ।
आजको देशव्यापी विरोध प्रदर्शन महँगी,भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयविरुद्ध भएको बताउँदै कांग्रेसले वाइडबडी जहाज खरिदमा भएको अर्बौंको घोटालाबारे गम्भीर ढंगले गहिरो छानविन गर्न पनि माग गर्ने भएको छ ।
वाइडबडी भ्रष्टाचार प्रकरणमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि संलग्न रहेकाले कांग्रेसले यो मुद्दा उठाउन छोड्यो भनी सत्तापक्षका कार्यकर्ताले आलोचना गरिरहेका बेला कांग्रेस प्रवक्ता शर्माले भ्रष्टाचारी जो भए पनि कारबाही हुनुपर्ने भन्दै गम्भीर रुपमा छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।
विरोध प्रदर्शनमा नेपाल देश आफंैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछिल्तिर के रहस्य लुकेको छ भन्नेबारेमा पनि कांग्रेसले आवाज उठाउने भएको छ ।
निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रियामा भएको ढिलासुस्तीका बारेमा आजको विरोध प्रदर्शनमा आवाज उठाउने भन्दै प्रवक्ता शर्माले विमानस्थल निर्माणका लागि आवश्यकताभन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी छिटोभन्दा छिटो निजगढ विमानस्थल बनाउने पक्षमा कांग्रेस रहेको बताउनुभएको छ ।
कांग्रेसले देशव्यापी विरोध प्रदर्शनमा ३३ किलो सुन काण्डमा ‘ठुला माछा’ हरु सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरुपका ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन ? भन्ने बारेमा पनि प्रश्न सोध्ने भएको छ ।
देशव्यापी विरोध प्रदर्शनमा प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक बजार मूल्यभन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचारमा कारबाहीका लागि दबाब सृजना गरिने पनि कांग्रेसले जनाएको छ ।
साथै संघीयता कार्यान्वयनका बाँकी कार्यभार पूरा गर्न भइरहेको ढिलाइले समग्र सत्ताको नियतमाथि नै गम्भीर प्रश्न उब्जिएको भन्दै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भन्नुभयो– ‘कम्युनिष्ट राजनीतिक दर्शनको प्रभाव र दबाबमा रहेर शक्तिको सम्पूर्ण केन्द्रीकरण गर्ने धङ्धङ्ती प्रधामन्त्रीमा जो देखिएको छ विरोधमा प्रदर्शनमा यो मुद्दा समेटिनेछ ।’
कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिविना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तीका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्पराविपरीतको भएको भन्दै असहमति जनाउँदै आएको छ ।
कांग्रेसले देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको छ ।











प्रतिक्रिया