एकै दिन ३

0
Shares

यो शुक्रबार एकै दिन ३ फिल्म रिलिजमा अउने भएको छ। आज पत्रकार दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म गोपी, नवनिर्देशक गोविन्दसिंह भण्डारीद्वारा निर्देशित रणवीर र हास्यव्यंग्यकार मनोज गजुरेलद्वारा निर्देशित फिल्म सय कडा दस एकसाथ रिलिजमा आउन लागेको हो।

गोपी अभिनेता विपीन कार्कीको फरक गेटअप र गाईपालक किसानको उठाइएको विषयवस्तुका कारण प्रतीक्षा गरिएको फिल्म मानिएको छ। यो फिल्मले यसै साता राजधानीमा गरेको २ शोबाट राम्रो प्रतिक्रिया पाएको छ। फिल्ममा स्वदेशमै केही गर्नुपर्छ भन्ने देखाइएको छ। कृषि क्षेत्रमाअथाह सम्भावना पनि देखाइएको छ। फिल्ममा गाईपालन गरेका गोपीले बढ्दो महँगी बेलामा समेत दूध किसानले भोग्नुपरेको समस्या झेलेका छन्। विपीन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्ममा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् भने पत्रकार सामीप्यराज तिमल्सेनाले लेखेका हुन्।

बुधबार आयोजित कर्पोरेट शोमा सहभागी कृषिमन्त्री चक्रपाणि खनाल बलदेवले गोपी प्रेरणादायी कथामा बनेको जनाउँदै यस्ता फिल्मलाई राष्ट्रले नै सहयोग गर्नुपर्ने बताए। उनले गोपीलाई केही न केही सहयोग गर्ने आश्वासन दिए। ‘मलाई थाहा भएसम्म राज्यसँग यस्ता फिल्मलाई के गर्ने भन्ने स्पष्ट नीति छैन। त्यसैले अहिले नै म के गर्ने भनेर यहाँ आश्वासन दिन सक्दिनँ। फिल्मको कथा प्रेरणादायी छ। सरकार गोपीप्रति सकारात्मक छु।’ –खनालले भने।

अर्को फिल्म रणवीर दक्षिण भारतीय सिनेमा शैलीमा बनेको छ। फिल्मका डेब्यु निर्देशक गोविन्दसिंह खड्काले आफू साउथ इन्डियन फिल्मबाट प्रशिक्षित भएकाले त्यही शैलीमा फिल्म बनाएको बताए। प्रेमकथामा आधारित एक्सन प्रधान यो फिल्ममा भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, अपहरण जस्ता विषयले निम्त्याएको समस्या उठाइएको निर्देशक भण्डारीले बताए। बिहीबार राति राजधानीमा प्रिमियर शो गरिएको फिल्ममा सुशील सिटौला, नवोदित अभिनेत्रीद्वय शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टीका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटा, शैलेश्वरी सिंहसहितको मुख्य भूमिका छ। गोमा विष्ट थापा र दीपेन्द्र रेग्मीद्वारा निर्देशित फिल्ममा राजनराज शिवाकोटा, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछोन, गम्भीर विष्ट र सुरेन बस्यालको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व निर्देशन, महेश पौडेलको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ।

सय कडा दस हास्यव्यंग्यकार मनोज गजुरेलको डेब्यु फिल्म हो। फिल्ममा गजुरेलकै वास्तविक जीवनकथा रहेको बताइएको छ। भ्रष्टाचारविरुद्ध लागेको एक कमेडियन अभियन्ताका रूपमा उनलाई फिल्ममा उतारिएको छ। ‘म यो क्षेत्रमा आउन राम्रो कथाको पर्खाइमा थिएँ। कमेडी विधाकै भए पनि फिल्मले सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्नुपर्छ। सय कडा दस यी दुईको उपयुक्त मिश्रण भएकाले काम गरेको हुँु।’ –गजुरलेको भनाइ छ। रामशरण पाठकको निर्देशन र राजाराम पौडलको कार्यकारी निर्माणमा बनेको फिल्ममा मनोजका साथमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा, मानश्वी निरौलालगायतल अभिनय गरेका छन्।