ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे ।
जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ११ गैराथोक घर भएर वडा नं. १० स्थित श्री उमाशह शिक्षालय उच्च माविको कक्षा ५ मा अध्ययनरत ११ वर्षकी विद्यार्थी सुनमाया तामाङ्ग हराएको ३ साता भयोे तैपनि केहि पत्ता लाग्न सकेको छैन । पुस २७ गतेदेखि उनी भक्तपुरबाट हराएकी हुन् ।
विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका लागि आएकी उनी भक्तपुर दरबार स्क्वायर अवलोकन गर्न जाने क्रममा सो स्थानबाट हराएकी हुन् । उनी झुक्किएर अर्को बसमा चढेको हुन सक्ने अनुमानका आधारमा त्यस वरपर र नगरकोट, मेलम्ची, बनेपा, दोलखा तथा राजधानी सम्म खोजी गर्दा समेत हालसम्म पत्तो लाग्न सकेको छैन ।
सम्बन्धित शिक्षक तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लगायतको टोली अहिले पनि उनको खोजीमा जुटेको तर काहिं कतै पत्ता लाग्न नसकेको शिक्षक प्रदिप नेपालले जानकारी दिए । ‘हामीले सम्भावित सबै ठाउँमा खोजी गरिसक्यौं, विभिन्न ठाउँमा रहेका प्रहरीचौकीमा पनि जानकारी गराएका छौं तर पनि पत्ता लाग्न सकेको छैन ।’
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामबहादुर लामाले भने , “खोजी अझै जारी छ तर फेला पार्न सकिएको छैन ।” बालिका फेला नपरेपछि विद्यालय र सम्बन्धित परिवार यतिबेला तनाबमा रहेको पनि उनले जानकारी दिए । शैक्षिक भ्रमणमा ५९ जना विद्यार्थीहरु आएको मध्ये अन्य सबै त्यतिबेलै सकुशल घर फर्किएका छन् । अहिले खोजी जारी रहेकाले परिवारलाई सान्त्वना दिइरहेको विद्यालयले केहि दिनमा सबै अभिभावक र सम्बन्धित परिवारसँग सरसल्लाह गरि आवश्यक प्रकृया अगाडि बढाइने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामबहादुरले जानकारी दिए ।
हराएकी सुनमायाका बाबु धनबहादुरको पहिले नै मृत्यु भएको र आमा पूर्णिमाले पनि छोडेर गएपछि उनी हजुरआमाको रेखदेखमा थिइन् । उनका २ दिदीबहिनी छन् । हराएको दिनदेखि नै उनको खोजी जारी रहेको महानगरिय प्रहरीवृत्त भक्तपुरले जनाएको छ । सम्भावित सबैठाउँमा खोजी गर्दा समेत अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । एसपी हिमालय कुमार श्रेष्ठको नेतृत्वमा करिव ५० जना प्रहरीको टोलीले दैनिक खोजी गरिरहेको र भक्तपुरकै युवाहरुको ठूलो समुह पनि उनको खोजीमा सक्रिय रहेको छ । तालिम प्राप्त कुकुर सहितको सक्रियतामा पनि उनको कुनै पत्ता नलागेपछि यतिबेला प्रहरी प्रशासननै अचम्ममा परेको छ । उनी कुनै आपराधिक समुहको कब्जामा परेको हुन सक्ने आशंका गर्न थालिएको छ ।
यदि कसैले कतै फेला पार्नु भएमा नजिकको प्रहरीचौकी वा ९८४११०३२६५, ९८४१३८४२५९, ९८४१३७३११० र ९८६०५६४३६६ मा खबर गरि सहयोग गरिदिनु हुन सम्बन्धित विद्यालयले सबैमा अनुरोध गरेको छ ।











प्रतिक्रिया