नेपाल समाचारपत्र, हेटौंडा
शहीद दिवसका दिन शहीदको सम्झनामा प्रदेश राजधानी हेटौंडामा विशेष कार्यक्रम भएको छ । हेटौंडा–११ मा अवस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा माल्यार्पण गरी शहीदको सम्झना गरिएको हो ।
कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शहीदका सपना पूरा गर्ने समय आएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले शहीदको बलिदानका कारण नेपाल वर्तमान अबस्थासम्म आइपुगेको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले शहीदका सपनालाई गणतन्त्र नेपालको सरकारले पूरा गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री पौडेलले शहीदको बलिदानले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्पष्ट पार्नुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवनमा अनुवाद गर्ने जिम्मेवारी काँधमा आएको भन्दै मुख्यमन्त्री पौडेलले शहीदका सपना पूरा गर्न सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
‘हाम्रा आचरण र चिन्तनहरु अझ पुरातन र पम्परागत शैलीका छन्,’ उहाँले भन्नुभयो–शहीदका सपना पूरा गर्न हाम्रा आचरण र शैली परिवर्तन गर्न जरुरी छ । मुख्यमन्त्री पौडेलले स्मारकप्रति आफ्नो साइनोलाई निकै भावुक मुद्रामा प्रस्तुत गर्दै शहीदहरुको प्रतिमा रहेको पवित्रस्थल शहीद स्मारकसँग आफ्नो गहिरो नाता रहेको संकेत गर्नुभयो । पौडेल हेटौंडाको मेयर हुँदा स्थापना गरेको स्मारक हाल नेपालको मात्र नभएर अन्तर्राष्ट्रियरुपमा समेत चर्चामा छ ।
लामो समयदेखि हालसम्म स्मारक विकास समितिको अध्यक्ष रहँदै आउनुभएका उहाँले भन्नुभयो–त्यसैले हालसम्म अध्यक्ष छाड्न सकेको छैन । मुख्यमन्त्री पौडेलले शहीद स्मारकले २४ वर्षदेखि शहीद दिवस मनाउँदै आएको जानकारी दिनुभयो ।
विसं १९९७ सालदेखि २०६२÷०६३ सालसम्म विभिन्न राजनीतिक आन्दोलनमा जीवन उत्सर्ग गर्नेहरुको स्मृतिमा शहीदस्तम्भ निर्माण गरिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । शहीद स्मारक मुलुकको परिवर्तनमा जीवन गुमाउने शहीदहरुको तीर्थस्थल भएको उहाँले दाबी गर्नुभयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले शहीदको बलिदानबाट राणाशासन, निरंकुश पञ्चायत, तानाशाही राजतन्त्र फालेर मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यबस्था स्थापना गर्न सफल भएको बताउनुभयो ।
स्मारक गेटबाट ¥यालीसहित स्मारक पुगेर शहीद प्रतिमामा माल्यार्पणपछि कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सांसद्, प्रदेश सरकारका उच्चतहका कर्मचारीसहितले शहीद प्रतिमामा पुष्पार्पण गरेका थिए ।
स्मारकमा परिवर्तनका निम्ति विभिन्न कालखण्डमा बलिदान दिने १२ जना शहीदको मूर्ति एउटै ढुंगामा कुँदिएको छ ।











प्रतिक्रिया