नेपाल समाचारपत्र, वीरगन्ज
प्रदेश २ सरकारले वीरगन्जमा शहीद पार्कको शिलान्यास गरेको छ ।
वीरगन्जको घण्टाघर छेउमा महानगरपालिकाको स्वामित्वमा रहेको विपी उद्यानको जग्गामा मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा शहीद पार्कको शिलान्यास गरेका हुन् । उक्त जग्गा बीपी उद्यानबाहेक अन्य प्रयोजनामा प्रयोग गर्न नपाइने भन्दै नेपाली कांग्रेस पर्साले विरोध जनाएको छ । शिलान्यास कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी भने सहभागी थिएनन् ।
मुख्यमन्त्री लालबाबु राउत गद्दीले मधेस आन्दोलनकै बलमा संघीयता र गणतन्त्र आएको कुरा नभुल्न आग्रह गरे । ‘केन्द्रीकृत एकात्मक राज्य सत्ताबाट मुलुक संघीयतामा परिवर्तन भएको छ, कुनै गाउँको ठिटो अहिले एउटा पालिका प्रमुख बनेर करोडौंको बजेट चलाउने अवसर मिलेको छ’ मुख्यमन्त्री राउतले भने ‘मधेस आन्दोलन र शहीदको बलिदानीबाटै यो परिवर्तन भएको हो, त्यसलाई कसैले भुल्नु हुँदैन ।’
उनले कांग्रेस, नेकपालगायतका दललाई जात धर्म, समुदाय भन्दा माथि उठेर आउन आग्रह गरे । ‘कांग्रेस नेकपालगायतका दललाई मेरो विनम्र अनुरोध छ, शहीद दल, समुदाय भन्दा माथि हुन्छ, पार्टीको सीमाभित्र राख्न सकिन्न’ उनले भने ‘खराब काम गरेको छैन, जग्गा हडपेको होइन, महानगरपालिकाको निर्णयअनुसार नै शहीद पार्क निर्माण गर्न लागेका हौं ।’
भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले ०४६ सालपछिका सरकारले गर्न नसकेको काम प्रदेश सरकारले गरेको बताए । उनले वीरगन्जमा मात्रै नभएर प्रदेश सरकारले सप्तरीको मलेठ, लहान गरी तीन स्थानमा शहीद पार्क बनाउन लागेको जानकारी दिए ।











प्रतिक्रिया