प्रदेश सरकारको बिदाको अवज्ञा

0
Shares

हेटौंडा, (नेस)
प्रदेश–३ मा बुधबार शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिइए पनि संघीय सरकारअन्तर्गत् मकवानपुरका सरकारी कार्यालय पूर्ववत् सञ्चालनमा आएका छन् ।

प्रदेश सरकारले पहिलो पटक दिएको सार्वजनिक बिदा मकवानपुरका सरकारी कार्यालयले नै बेवास्ता गरेका हुन् । प्रदेश सरकारको माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले शहीद दिवसका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, प्रदेश राजधानी हेटौंडाका संघीय सरकारंअन्तर्गत् सरकार कार्यालयले यसको बेवास्ता गरेका छन् ।

सरकारी एवम् निजी बैंकले पनि सरकारी बिदाको बेवास्ता गर्दै नियमितझैं सेवा दिएका छन् । प्रदेश सरकारको बिदा कार्यान्वयन गर्नेमा विद्यालय, उद्योग, कलकारखाना, प्रदेश तहका कार्यालय र स्थानीय तहका कार्यालय छन् । कुनै कार्यालय खुल्ने तर कुनै बन्द हुँदा सेवाग्राही अन्यौलमा परे ।

मुख्यमन्त्री कार्यालय र मन्त्रालयहरु नजिकका संघीय सरकारका कार्यालय जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालयसहित कार्यालयहरु बुधबार निर्वाध खुले ।

प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँगैको जिल्ला प्रशासन कार्यालय मकवानपुर साबिकझैं विहान १० बजे खुलेको थियो । प्रशासनका कर्मचारी कार्यालय खोलेर बसेका थिए । संघीय सरकारले आफ्नो मातहत कार्यालय खोल्न निर्देशन दिएकाले कार्यालय सञ्चालनमा ल्याइएको कर्मचारीले बताए ।

प्रदेश–३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदाबारे केन्द्रीय सरकारको गृह मन्त्रालयसमेत वोधार्थ पठाएको थियो । केही समयअघि प्रदेश–२ सरकारले दिएको बिदा संघीय सरकारअन्तर्गत् कार्यालयले बेवास्ता गरेपछि मुख्यमन्त्री र मन्त्री नै तालाबन्द गर्न पुगेको विषयले देशमै चर्चा पाएको थियो । मकवानपुरमा भने त्यसो भएन ।