इनोभेटिभ बास्केटबल शुक्रबारदेखि


काठमाडौं, (नेस)
इनोभेटिभ इगंलिस स्कुलको आयोजनामा आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १३, जुनियर ब्वाइजमा १० र सिनियर गल्र्समा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा इनोभेटिभका एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापाले जानकारी गराए। ब्वाइजमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ। समूहको शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्। गल्र्सको प्रतिस्पर्धा राउन्ड रोविन लिगका आधारमा हुनेछ। राउन्ड रोविनमा शीर्ष दुईस्थानमा रहने टिम उपाधिका लागि पुनः भिड्नेछन्।

सिनियर ब्वाइजमा एचएचसीए, जुनियर ब्वाइजमा पुष्पसदन र सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन्। प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रूपैयाँ खर्च हुने इनोभेटिभका प्रशासकीय निर्देशक राजेन्द्र चौलागाईंले जानकारी दिए। माघ २४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजककै कोर्टमा हुनेछ।