आर्सेनलद्वारा कार्डिफ पराजित


लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राति भएको खेलमा आर्सेनलले कार्डिफलाई २–१ गोलअन्तरले पराजित गरेको छ। आर्सेनललाई घरेलु मैदानमा जित दिलाउन पिएरे एमेरिक औवामियाङ र एलेक्जेन्डर लाकाजेटले गोल गरेका थिए। कार्डिफका नाथानिल मेन्डिज लाइङले सान्त्वना गोल फर्काए।

प्रतिस्पर्धात्मक बनेको खेलको ६६औं मिनेटमा औवामियाङले पेनाल्टीमार्फत गोल गर्दै आर्सेनललाई अग्रता दिलाएका थिए। बाम्वाले एलेक्स इओवीलाई फल गरेपछि आर्सनलले पेनाल्टीको मौका पाएको थियो। जसलाई पिएरेले सदुपयोग गरे।

८३औं मिनेटमा पिएरेकै पासमा लाकाजेटले गोल गर्दै आर्सेनललाई २–० को अग्रता दिलाए। इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा कार्डिफका नाथीनिलले गोल गरे पनि आर्सेनल २–१ ले विजयी हुन सफल भयो।

मंगलबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग २–२ गोलको बराबरीमा रोकियो। युनाइटेडले घरेलु मैदानमा २–० ले पछि परेकोस्थितिलाई उल्ट्याएर बर्नलीसँग २–२ गोलको बराबरीमा खेल्दै अंक खोस्न सफल भएको हो। यससँगै युनाइटेडको शत प्रतिशत जित यात्रामा पूर्णविराम लागेको छ। युनाइटेडका अन्तरिम प्रशिक्षक ओलने गनर सोल्सजरको प्रशिक्षणमा लगातार ८ खेलमा जित आत्मसात गरेको थियो।

ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।५१औं मिनेटमा एस्ले बार्नेसको गोलबाट युनाइटेड खेलमा पछि परेको थियो। ८१औं मिनेटमा क्रिस वुडले गोल गरेपछि युनाइटेड खेलमा २–० ले पछि परेको थियो।

तर ८७औं मिनेटमा पाउल पोग्बाले पेनाल्टीमार्फत् गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने संकेत गरेका थिए। इन्ज्युरी समयको तेस्रो मिनेटमा निल्ससन लिन्डलफले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए।

सिटी स्तब्ध
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी न्यु क्यासल युनाइटेडसँग स्तब्ध बनेको छ। सिटीलाई न्यु क्यासलले २–१ ले हराउँदै स्तब्धपूर्ण नतिजा निकालेको हो। घरेलु मैदानमा मंगलबार राति भएको खेलमा सिटीलाई हार चखाउन जोसे सलोमोन रोन्डन र माट रिट्चीले गोल गरेका थिए।
खेलको पहिलो मिनेटमा नै अगुएरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर ६६औं मिनेटमा न्यू क्यासलका जोसे सलोमोनले बराबरी गोल फर्काए। खेलको ८०औं मिनेटमा माट रिट्चीले गोल गर्दै न्यु क्यासललाई २–१ को जित दिलाए।