भरतपुरमा अन्तर्राष्ट्रिय रंगशाला बन्ने


काठमाडौं, (नेस)
धुर्मुस सुन्तलीको फाउन्डेसनले भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ। बुधबार भएको सहमतिअनुसार धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरमा २० बिगाहा जग्गामा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न लागेको हो। रंगशाला करिब ३ अर्ब रुपियाँमा २ वर्षमा निर्माण सम्पन्न हुने जनाइएको छ।

देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन्। सो फाउन्डेसनले यसअघि चारवटा बस्ती निर्माण गरिसकेको छ। यसैले पनि रंगशाला बनाउने आँट भएको सीताराम कट्टेलले बताए।

थ्रीडी ढाँचा तयार भइसकेको रंगशालामा करिब ३० हजार दर्शक क्षमताको हुनेछ। कट्टेलका अनुसार ६ महिनापछि रंगशालाको शिलान्यास गरिनेछ। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि गत चैतमा नै कट्टेलले फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने तयारी थालेका थिए।