क्यामरुन डफिन्सको संघर्षपूर्ण जित


नेपाल समाचारपत्र, पोखरा
पोखरा रंगशालामा जारी पोखरा कपको छैठौं संस्करण मनकामना केबलकार पोखरा कपमा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमिलीले संघर्षपूर्ण जित निकालेको छ। क्यामरुनले ललितपुरको च्यासल युथ क्लबलाई १–० गोलले मुश्किलसँग हराएको हो। खेल शुरू भएको १०आंै मिनेटमा यानिकले हेडमार्फत गोल गरेका थिए। च्यासलका नरेन्द्र चौधरीले फाउल गरेपछि इल्विनले प्रहार गरेको फ्री किकमा यानिकले हेडमार्फत् गोल गरेका हुन्।

योसँगै डाफिन्स क्वार्टरफाइनलमा पुगेको छ।
च्यासलले पहिलो हाफमा गोल गर्ने केही राम्रा अवसर गुमाउँदा हार व्यहोर्न बाध्य भएको हो। भिक्टोर अमोबिले दिएको पासमा एल्भिस अप्पिचले गरेको प्रहार पहिलो बार नजिकैबाट बाहिएको थियो। त्यस्तै खेलको ३४आंै मिनेटमा अर्को अवसर गुमाउन पुगेको थियो। पेनाल्टी क्षेत्रबाट गरेको प्रहारलाई क्यामरुनका गोल रक्षक विट भइसकेको अवस्थामा खेलाडीले बचाउ गरेका थिए।
त्यस्तै ५१आंै मिनेटमा गोल अन्तर दोब्बर पार्ने अवसर क्यामरुनले गुमायो क्यामरुनका डिडेर टिनाले वान भर्सेस वानमा गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो। खेलको ६७औं मिनेटमा च्यासलका हेमन्त थापा मगरले करिब २० यार्डबाट गरेको प्रहार पहिलो बार नजिकैबाट बाहिरिन पुग्यो।

७६आंै मिनेटमा बिक्रम लिम्बूले करिब २५ यार्डबाट गरेको प्रहारलाई क्यामरुनका गोलरक्षकले राम्रो बचाउ गर्दा रिबाउन्ड भएको बललाई लिम्बुले नै प्रहार गर्दा पुनः गोलरक्षकले राम्रो बचाउ गरेका थिए। ८१औं मिनेटमा च्यासलका हेमन्त थापामगरले गरेको फ्री किक प्रहारलाई गोलरक्षकले पन्च गर्दा च्यासलका लागि दुर्भाग्यपूर्ण बन्न गयो। क्यामरुनका गोलरक्षक प्रीयसो खेलको म्यान अफ दि म्याच घोषित भए उनले नगद रु ५ हजारका साथै ट्रफी हात पारे

जित सँगै क्यामरुनका टिम संयोजक आंशिक थापामगरले भाग्यले साथ दिएको बताए। ‘हामीलाई ट्रेनिङका लागि मैदानको अभाव छ, आएर राम्रो ट्रेनिङ गर्न पाइएन, यो फ्रेन्चाइ खेल्न आएको टिम हो’ अर्को खेलका लागि स्ट्राइकर आउदै छन्, आशा छ खेल राम्रो हुनेछ’ –उनले भने। यो टिम यसअघि खप्तड गोल्डकपमा संकटासँग १–० ले पराजित भएको थियो भने इटहरीमा काकडभिट्टासँग टाइब्रेकरमा पराजित भएको थियो। मुख्य तीन खेलाडी आउन बाँकी रहेकाले पनि सोचेजस्तो खेल नखेलेको उनले बताए।