रामेछाप, (नेस)
नेपाल विद्यार्थी संघ रामेछापले कम्युनिस्ट सरकारले खराब काम गर्न थालेको भन्दै त्यसको बिरोधस्वरूप सिठ्ठी जुलुस निकालेको छ। सरकारले गर्ने हरेक काममा अधिनायकवाद झल्किदै गएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गर्दै नेविसंघले बुधबार साँझ मन्थलीमा सिठ्ठी जुलुस निकालेको हो। मन्थलीको देवकोटाचोकबाट शुरु भएको विरोध जुलुस मन्थली बजार परिक्रमा गरी विपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो।
कोणसभामा बोल्दै नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले सिंहदरबारमा बसेर भ्रष्टाचार गरिरहेकाको विरुद्धमा नेपाली कांग्रेसले आन्दोलन चलाएको बताए। देश लुट्ने ओली र प्रचण्डहरू अहिले पनि मार्सी चामलको भातमा बिकिरहेको भन्दै सचिव कार्कीले उनीहरूलाई मार्सी चामलको मूल्य चर्को पर्ने चेतवानी दिए।
त्यसै गरी नेविसंघ क्षेत्र नम्बर १ रामेछापका सभापति धिरज खत्रीले नेविसंघले सरकारका खराब कामको विरोधमा शान्तिपूर्ण रूपमा विरोध जनाउँदा आफ्ना नेताहरूलाई बिनाकारण पक्राउ गरी जेल हाल्न थालेकाले तत्काल रिहाइ गर्न माग गरे।
त्यस्तै नेविसंघ क्षेत्र नम्बर २ रामेछापका सभापति उत्तम कार्कीले कांग्रेसलाई स–साना कुरामा बाम सरकारले जिस्क्याइरहेको भन्दै नजिस्क्याउन आग्रह गरे। उनले यसरी कांग्रेसलाई जिस्क्याउँदै जाने हो भने कम्युनिस्ट भन्ने पार्टी नै पतन हुने चेतवानी दिए। अधिनायकवादी सरकारविरुद्ध सिठ्ठी जुलुस लेखिएको कालो ब्यानरसहित निस्केको जुलुस प्रदर्शनमा नेपाल विद्यार्थी संघ रामेछापका सचिव सुन्दर घिमिरे, सहसचिव विमल पौडेल, कोषाध्यक्ष युवराज सुवेदीलगायत कांग्रेस नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो।











प्रतिक्रिया