पर्वत, (नेस)
पर्वतको सदरमुकाम कुस्मा बजारको मुटु लोकतन्त्र चोकमा रहेको छ शहीद गोबिन्दनाथ शर्माको शालिक। शहीद शर्माकै नाममा लोकतन्त्रचोक नामाकरण पनि गरिएको छ।
गत वर्षसम्म यस दिन कुनै न कुनै संघसंस्थाले कार्यक्रम गरेर सदरमुकाम कुश्मा बजारको लोकतान्त्रिक चोकमा रहेको २०६२÷६३ को जनआन्दोलनमा धौलागिरि अञ्चलबाट शाहदत प्राप्त गरेका एकमात्र शहीद गोविन्दनाथ शर्माको शालिकमा माल्र्यापण गर्दै मनाउँथे। तर यस वर्ष भने कुनै पनि सरकारी तथा सामाजिक संघसंस्थाले कार्यक्रम नगरेपछि शहीद गोविन्दनाथ शर्माका भाइ देव शर्मा पौडेलले माल्यार्पण गरी आफ्ना दाजुको सम्झना गर्नुभएको छ।
‘कुनै न कुनै संघसंस्थाले त शहीदको योगदानलाई स्मरण गलार्न नि भन्ने लागेको थियो तर बिहान ११ बजेसम्म पनि कसैले केही कार्यक्रम नगरे पनि आफू एक्लैले गएर सम्झिएको हुँ’ –उहाँले भन्नुभयो। उहाँले शहीद शर्माको शालिकमा माल्यार्पण गर्दै स्मरण गर्नुभयो। शहीद दिवसको दिन गरिएको बिदा कटौतीले बास्तविक शहीदहरूप्रति अपमान भएको उहाँले बताउनुभयो।
पौडेलले पछिल्लो समय सरकारले आफ्ना कार्यकर्ता होस वा विभिन्न प्रलोभन र बहानामा शहीद घोषणा गर्ने कार्य अनुचित भएको बताउँदै बास्तविक शहीदहरूको योगदानलाई कहिल्यै भुल्न नहुने बताउनुभयो।
शहीद गोविन्दनाथ शर्माको २०६३ वैशाख ८ गते कुश्मा बजारमै आन्दोलनका क्रममा गोली लागेको थियो भने उपचारका क्रममा वैशाख १२ गते निधन भएको थियो।
यस वर्ष संघीय सरकार र प्रदेश सरकारले शहीद दिवस मनाउनका लागि कुनै परिपत्र नगरेका कारण पर्वतका कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएको सरकारी अधिकारीहरूले बताएका छन्।











प्रतिक्रिया