दिपेन्द्र शर्मा, सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासका लागि डोजर चलाउन पनि पछि नहट्ने बताउनुभएको छ। श्रमप्रति सबैले सम्मान गर्नुपर्छ भन्दै उहाँले अब भाषण मात्रभन्दा पनि काम गर्नतिर अग्रसर हुनुपर्ने बताउनुभयो।
राष्ट्रिय योजना आयोगले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको पन्ध्रौं योजना आधारपत्रको ९प्रारम्भिक मस्यौदा० कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो। ‘मुख्यमन्त्रीले पनि डोजर चलाउनुपर्छ’, उहाँले भन्नुभयो– ‘त्यो क्षमता नभए बेल्चा, कुटो कोदालो समाउन पनि पछि हट्नुहुँदैन।’ नेताको भाषण र कुराले मात्र यो देश बन्न नसक्ने भन्दै कामतिर अग्रसर हुन सबैलाई आग्रह गर्नुभयो। मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका सबै जनप्रतिनिधिहरूलाई हप्ताको एक दिन श्रममा लाग्नका लागि आग्रह गर्नुभयो। ‘तपाईहरू हप्तामा एक दिन श्रम दिनको रूपमा मनाउनुहोस्’ उहाँले भन्नुभयो– ‘पसिना नचुहायसम्म यो प्रदेश समृद्ध हुँदैन।’
बुझाइमा एकरूपता नआएसम्म कर्णाली प्रदेशको विकासले गति नलिने बताउनुभएको छ। आदेश दिने तर काम नगर्ने प्रवृत्ति बढिरहेकाले अब समृद्ध कर्णालीको विकास गर्न आदेश नभई आफ्नो योगदान र कर्तव्य पूरा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। मुख्यमन्त्री शाहीले सचेत नागरिकले समाजका लागि आफ्नो योगदान गर्नुपर्छ अनि मात्र समृद्धि हुने बताउनुभयो। सबैको रोजाइमा कर्णाली बनाउन कर्णालीको विकासका लागि सबै पक्षहरूको साझा प्रतिवद्धता हुनुपर्ने उहाँको भनाइ छ।











प्रतिक्रिया