समाजलाई सुशासनयुक्त बनाउन नागरिक समाजको भूमिका आवश्यक

0
Shares

भक्तपुर, (नेस)
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल ९इह्रिकन० ले भक्तपुरमा ‘पारस्परिक जवाफदेहिताका साथ नागरिक समाज’ विषयक साझा सभा कार्यक्रमको आयोजना गरेको छ। सभामा बोल्दै प्रतिनिधिसभाका सांसद तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले भक्तपुरलाई सुशासन र भ्रष्टाचारमुक्त जिल्ला बनाइने बताउनुभएको छ।

बस्नेतले भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्ला बनाएर छाड्ने बताउँदै प्रत्येक भ्रष्टाचार बढी हुने कार्यालयलाई विशेष फोकस गरेर डेक्स नै राखेर भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरिने बताउनुभयो। जिल्लाका विभिन्न स्थानका सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरिएकाले सो जग्गा खोसिने उहाँले जानकारी गराउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुरका ४ वटै स्थानीय तहमा सुशासन समिति बनाएर जनमैत्री र अनुशासित स्थानीय शासनको अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो। प्रतिष्ठानका अध्यक्ष कपिल काफ्ले, गैरसरकारी संस्था महासंघका अध्यक्ष सोम शर्मा बजगाइँ नेपालका स्रोत व्यक्ति गोविन्दराज पौडेल, जिल्ला समन्वय समितिका सदस्य गीता देउजालगायतले समाजलाई शुद्ध र सुशासनयुक्त बनाउन नागरिक समाजको सक्रिय भूमिका, सहभागिता र सहयोग रहनुपर्नेमा जोड दिनुभएको थियो।