भ्रष्टाचारको अन्त्य गर्न सबै एकजुट होऔंः प्रधानमन्त्री

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी शासन स्थापना र भ्रष्टाचारको अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ।

सहिद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौं, लैनचौरस्थित सहिद पार्कमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रको संस्थागत जगलाई बलियो बनाएर सहिदको सपना पूरा गराउन कानुनी शासन स्थापना र भ्रष्टाचारको अन्त्य हुनैपर्ने बताउनुभयो।

नागरिक स्वतन्त्रताका लागि सामान्य नागरिक, कर्मचारी, सुरक्षाकर्मी सबैले सहादत प्राप्त गरेको प्रस· उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक सम्पदाले भरिएको नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने योजनामा एकजुट हुन सबैलाई आग्रह गर्नुभयो। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचित प्रतिनिधिले स्वतन्त्रतापूर्वक काम गर्न नपाएको उल्लेख गर्दै लोकतन्त्र बलियो बनाउन निर्वाचित प्रतिनिधिलाई निर्बाध काम गर्न दिनुपर्ने बताउनुभयो। विसं २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्वमा मनाइँदै आएको सहिद सप्ताहको मूल कार्यक्रममा यसअघिका वर्षमा स्मृति मन्तव्य दिने गरेको थिएन। प्रधानमन्त्रीसहित उच्च अधिकारी आएर स्मृतिसभा मात्र गर्ने गरिन्थ्यो। यसवर्ष सभामा प्रधानमन्त्री ओली र सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्मृति मन्तव्य दिनुभएको हो।

सो अवसरमा प्रधानमन्त्री ओलीले ज्ञात÷अज्ञात सहिदको स्मरण गर्दै सहिद स्तम्भमा पुष्पहार चढाउनुभएको थियो। नेपाली सेनाको टुकडीले सहिदहरूलाई सलामी अर्पण गरेको थियो। त्यसक्रममा मन्त्री, सांसद, महानगरपालिकाका उपप्रमुख, सचिव, प्रधानसेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षकसहित सुरक्षा निकायका प्रमुख, महानगरका वडाध्यक्ष, कार्यपालिकाका सदस्यसहित कर्मचारी र जनसाधारणले सहिद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो। सभाअघि शान्तिबाटिकामा भेला भई बाजागाजासहित लैनचौरसम्म ¥याली निकालिएको थियो। ¥यालीमा गृहमन्त्री रामबहादुर थापा बादल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहित सरकारी उच्च अधिकारीको सहभागिता थियो।

राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट गरेको आरोपमा विसं १९९७ साल माघ १० गतेदेखि १५ गतेबीच ४ जना सहिदलाई प्राणदण्ड दिइएको थियो। हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शमशेरले विसं १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए।

निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचली, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालो र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी हत्या गरिएको थियो। माफी मागेर शासकसामू झुक्नुभन्दा प्रजातन्त्रका लागि मृत्यु स्वीकार्ने चार र अन्य ज्ञात/अज्ञात सहिदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइँदै आएको छ।