धुर्मुस–सुन्तली र भरतपुर नगरपालिकाबीच क्रिकेट रंगशाला निर्माण गर्ने सम्झौता

0
Shares

कार्यक्रममै १ लाखदेखि ३ करोडसम्म सहयोगको घोषणा
हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को फाउन्डेसनले अब नेपालमै अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भएको छ। धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच भरतपुरको चितवनमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि बुधबार राजधानीको राष्ट्रिय सभागृहमा अयोजित कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञान संकायअन्तर्गत रहेको २० बिघा ६ कट्ठा जग्गामा बन्न लागेको रंगशाला २ वर्षमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ। विभिन्न मन्त्री, सांसद, सुरक्षा अधिकारीललगायतका बीच सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले समृद्ध नेपालको अवधारणा ल्याउँदा कतिले मन नपराए पनि अब देश समृद्धिमा लागेको दाबी गरे। सधैंझैं ठट्यौलोरूपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले कार्यक्रममा भने– ‘यहाँ मजदुर होइन जागिरेहरू आन्दोलन गर्छन्, डाक्टरहरू आन्दोलन गर्छन्।’ प्रधानमन्त्री ओली पुग्नुअगाडि नै ख्यातिप्राप्त अभिनेता तथा फाउन्डेसनका सल्लाहकार मदनकृष्ण श्रेष्ठले भ्रष्टाचारका कारण देश अगाडि नबढेको र सबैभन्दा बढी भ्रष्टाचार राजनीतिमा रहेकोप्रति ओलीले भने– ‘अघि मदनकृष्णजीको कुरामा धेरै ताली आयो रे भन्ने सुनें, मदनकृष्णजीले भ्रष्टचारको कुरा गर्नुभयो होला।

अब भ्रष्टाचारीलाई तह लगाउने काम म गर्छु।’ उनले थपे– ‘गायक शिशिर योगीले गीतमा यो देशमा म यौटा मानिस खोजिरहेछु भन्नुहुन्थ्यो। अब भेटियो धुर्मुस–सुन्तली। नेपालमा क्रिकेट खेलको लोकप्रियता बढ्दै गएका बेला यहाँ क्रिकेट मैदानको आवश्यकता थियो। तर, धुर्मुस–सुन्तलीले यसको घोषणा गरे। घोषणा गर्ने मान्छेको गोजीमा चिया खाने पैसा छ÷छैन थाहा छैन। तर, क्रिकेट मैदान बनाउने घोषणा गरेपछि छेउकाले चिटमा ३ करोड सहयोग रकम लेखेर दिए। हो, यसरी नै सहयोग गर्दै जाने हो भने यो कार्य छिट्टै सफल हुन्छ, सरकारको तर्फबाट सक्दो सहयोग हुनेछ।’

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानरगपालिकालाई शुभकामना दिँदै धुर्मुस–सुन्तलीले विकासको गोरेटो देखाउने काम गरेको बताए। ‘महान् उद्देश्यका साथ यस्तो मौलिक र विशिष्ट कार्य शुभारम्भ गर्न लागेकोमा दुवै पक्षलाई बधाई। देशमा भूकम्पका कारण धनजनको क्षति भएका बेला धुर्मुस–सुन्तली आफ्नोतर्फबाट राष्ट्र निर्माणमा लाग्नुभयो र पहरी बस्तीदेखि विभिन्न बस्ती निर्माण गर्नुभयो। उहाँहरूले अन्य नेपालीलाई पनि गोरेटो देखाउने काम गर्नुभएको छ’, प्रचण्डले भने– ‘भर्खरै मदनकृष्ण श्रेष्ठले आफ्नै तरिकाले राजनीतिमा भ्रष्टाचार छ भन्दै आफ्नै तरिकाले प्रहार गर्नुभयो। उहाँले भन्दा त मीठो लाग्ने रहेछ। हो है भने जस्तो लाग्ने रहेछ। तर, कोही–कोही व्यक्तिले भन्दा चाहिँ रिस उठ्छ। म कुनै बेला सोच्छु यो राजनीतिभन्दा बरु कलाकारीमा लाग्नुपर्ने रहेछ किरु तर, होइन राजनीतिमा भएको मान्छेले नै राजनीतिमा भएको विकृति हटाउन सक्छ। त्यस कारण अबको एक दशकमा भ्रष्टाचार हट्नेछ र स्वच्छ राजनीति बन्नेछ।’
भरतपुर महानगरकी मेयर रेणु दाहालले धुर्मुुस–सुन्तलीले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने योजना लिएर जग्गा र स्थान खोज्दै हिँडेका बेला आफूहरूले गरेको प्रस्तावलाई स्वीकार्दै चितवनमा नै रंगशाला निर्माण गर्न सहमत भएकोमा धन्यवाद व्यक्त गरिन्। ‘अहिलेको अवस्थामा समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय नारा साकार पार्नका लागि सरकार एक्लैको प्रयास पर्याप्त छैन। सबै जनता मिलेर काम गरे यो छिट्टै साकार पनि हुन्छ। एउटा क्रिकेट मैदान हुनु भरतपुर महानगरपालिकका लागि आवश्यकता पनि थियो। हाम्रो पनि रंगशाला निर्माण गर्ने तीव्र चाहना तथा उहाँहरू पनि जग्गाको खोजीमा भएको कारण हामीले चितवनमा नै बनाउनका लागि प्रस्ताव ग¥यौं। उहाहरूले पनि स्वीकार्नभयो। हामी मात्रको प्रयासमा यति छिटो काम हुन सक्दैनथ्यो तर धुर्मुस–सुुन्तलीका कारण आज रंगशाला निर्माणको घोषणा भएको छ। यसमा हामी सबै हर्षित र खुसी छांै। चितवन महानगरपालिका दिनरात नभनी यस कार्यमा हामी सक्दो सहयोग गर्न तत्पर छौं’, उनले भनिन्– ‘रंगशाला तयार भएपछि पहिलो म्याच भारत र पाकिस्तानबीच गराउने मन छ। किनभने यी दुई देशको खेल आफ्नो देशमा हुन सकेको छैन।’

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपालले क्रिकेट जगत्मा पाएको सफलताको चर्चा गर्दै बन्न क्रिकेट रंगशालाका लागि शुभकामना दिए। खेलकुद मन्त्री जगत विश्वकर्माले नेपाली खेलाडीले भौतीक पूर्वाधार र सुविधाको अभावमा पनि नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेको चर्चा गर्दै सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बताए। ‘यस महान् कार्यको घोषणामा सरकारको भरपुर सहयोग रहनेछ।’ –उनले भने।

कार्यक्रमा बोल्दै धुर्मुस–सुन्तलीको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले सबै नेपालीको प्रतिबद्धता र सहयोगका कारण आज घोषणा भएको रंगशाला २ वर्षपछि होइन अहिले नै मन–मनममा बनिसकेको जस्ता अनुभव भएको बताए। ‘हाम्रो सक्रियता र सबैको सहयोगमा पहरी बस्तीदेखि सन्तपुर बस्तीसम्म ठडियो। तर, केवल बस्ती र घर मात्र ठडिएन। मन पनि ठडियो यो सबैको सहयोगका कारण सम्भव भएको हो’, कट्टेलले भने– ‘मदनकृष्ण दाइले हिसाबकिताबमा ध्यान दिनु भनेर सम्झाउनुभयो। मलाई पापको खोल ओडेर धर्ती छोड्नु छैन, त्यस कारण यसमा कुनै पनि तलमाथि हुने छैन। यसका लागि हामीसँग हरेक हिसाबकिताब राख्ने अकाउन्टेन्ट हुनुहुन्छ। वृत्तचित्रमा देखाइएको भन्दा पनि मौलिक र सुन्दर बन्नेछ।’ त्यसै गरी धुर्मुस–सुन्त्ली फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले आफूहरू कार्यक्रमका लागि अमेरिकामा रहेको बेला नेपालमा भूकम्प आएको थाहा पाउनासाथ सम्पूर्ण कार्यक्रम रद्ध गरेर नेपाल फर्किई मानव सहयोगमा लागेको बताइन्। ‘हाम्रो अभिनय हेरेर दर्शक हास्नुहुन्छ। तर, हामी उहाँहरूको मुहार मात्र होइन मन नै हसाउनका लागि काम गरिरहेका छांै। पहरी बस्तीमा लाग्दै गर्दा हाम्री छोरी भर्खर ८ महिनाकी थिइन्। तर, हामी त्यहाँ त्यस्तै विपदमा परेका मानिसको उद्धार र बासस्थान निर्माणमा लागिरहेका थियौं। पहिलेझैं क्रिकेट रगंशाला निर्माणको काममा सबैको हातोमालो र सहयोग प्राप्त हुनेछ भन्ने विश्वास छु।’ –उनले भनिन्।

कार्यक्रममा फाउन्डेसनको गतिविधि, नेपाली क्रिकेट क्षेत्रको इतिहास तथा निर्माणाधीन रंगशालाबारे ३ वृत्तचित्र प्रदर्शन गरिएएको थियो। वृत्तचित्रमा जनाइएअनुसार कमलको फूल आकारको रंगशाला क्रिकेटका साथ बहु खेलका लागि हुनेछ। जहाँ भलिबलदेखि डन्डिबियो खेल्नेसम्मको सुविधा हुनेछ र आराम कक्षसमेतको प्रबन्ध हुनेछ। नेपाली मौलिकता झल्कने रंगशालाको निर्माण लागत ४ अर्ब अनुमान गरिएको छ भने कार्यक्रममै विभिन्न व्यक्ति र संस्थाले सहयोगको घोषणा गरेका छन्। १ लाख रुपियाँदेखि ३ करोडसम्म सहयोग गर्ने घोषणा कार्यक्रममा भएको थियो।