आत्माराम थापा
वडाध्यक्ष, गोदावरी नगरपालिका–९
स्थानीय तह पुनःसंरचनापछि काठमाडौं उपत्यकामा धेरै नगरपालिका गठन भए। त्यही क्रममा ललितपुरमा पनि नयाँ नगर थपियो गोदावरी नगरपालिका। साविकका छम्पी गाविसका सबै वडा गाभिएर गोदावरी नगरभित्रको ९ नं वडा बनेको छ। नगरपालिका गठन र स्थानीय तहले जनप्रतिनिधि पाएपछि विकास निर्माण र वडाका अन्य पक्षमा केन्द्रित रहेर सो वडाका वडाध्यक्ष आत्माराम थापासँग गरिएको कुराकानी।
तपाईंले वडाको नेतृत्व सम्हालेपछिको डेढ वर्षको अवधिमा वडामा के–कस्तो परिवर्तन आएको छ ?
मैले वडाको जिम्मेवारी सम्हालेको डेढ वर्ष पूरा भएको छ। तर, खासै उल्लेखनीय काम भने हुन सकेको छैन। केही हदसम्म वडाभित्रका शाखा सडकको मर्मत सम्भार भइसकेको छ भने धेरै काम अझै बाँकी नै छ। नगरपालिकाको ५० प्रतिशत र लिड नेपाल नामको संस्थाको ५० प्रतिशत लगानीमा खानेपानीको समस्या समाधान गर्न एउटा परियोजनाले गति लिएको छ।
यहाँ पानीको प्राकृतिक स्रोत नभएकाले डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराउने तयारी गरिएको छ। नख्खुखोला किनारको हनुमठमा गत भदौमा डिप बोरिङ भइसकेको छ। अब देउरालीमा रहेको खानेपानीको पुरानै ट्यांकीमार्फत घर–घरमा पानी उपलब्ध गराउने काम अघि बढेको छ। देउरालीको पानी ट्यांकीले मात्रै समग्र वडाबासीलाई पानी उपलब्ध गराउन असम्भव हुने भएकाले ४/५ लाख लिटर क्षमताको अर्को ट्यांकी आवश्यक पर्छ। यसका लागि नगरपालिकामार्फत केन्द्रमा बजेट माग गरिएको छ।
अझै उल्लेखनीय काम हुन नसकेको बताउनुभयो। खास समस्याचाहिँ के हो ?
मुख्य समस्या भनेको बजेटको अभाव नै हो। यो क्षेत्र नयाँ नगरपालिकाभित्र समेटिएकाले पर्याप्त बजेट पनि छैन। नगरपालिकाले सबै वडालाई बजेट वितरण गर्नुपर्ने भएकाले वडाको भागबन्डामा पर्ने बजेट थोरै हुन्छ। स्थानीय निकायमा विकास निर्माणका लागि आवश्यक बजेट प्राप्त गर्ने प्रक्रिया केही झन्झटिलो पनि छ। उपभोक्ताको आफ्नै लगानीमा कुनै परियोजना अथवा कुनै निर्माण कार्य सम्पन्न भएपछि मात्र नगरपालिकाबाट बजेट निकासा हुन्छ। त्यसैले कुनै पनि काम अघि बढाउन र काम सम्पन्न गर्न वडाबासी जुट्नैपर्छ, उपभोक्ता आफैंले पनि लगानी गर्नैपर्छ। कहिलेकाहीं त कामदारको अभाव पनि हुन्छ। सरकारी ज्यालाअनुसार कामदार पाउन गाह्रो हुने भएकाले कामदारले माग गरेअनुसारकै ज्याला उपलब्ध गराउन व्यावहारिक कठिनाइ हुन्छ।
वडाबासीको गुनासोचाहिँ कस्तो छ ?
पहिले गाविस भएको ठाउँ नगरपालिका भएपछि विकास निर्माण र अन्य परिवर्तन छिट्टै हुन्छ भन्ने स्थानीयको अपेक्षा धेरै थियो। अझै पनि छ, जुन कुरा स्वभाविक पनि हो। कतिपय अवस्थामा स्थानीय बासिन्दा वडामाथि परनिर्भर भएजस्तो लाग्छ, त्यसैले गुनासो बढ्छ। मलाई लाग्छ, विकास निर्माण प्रक्रियामा लाग्ने समय र वडाको कार्यसम्पादनमा वडाबासीको बुझाइको कमीले गर्दा गुनासो बढ्ने गरेको हो। खानेपानी, सिँचाइको सुविधा भएन, सडक सुधार भएन भन्ने वडाबासीको गुनासो छ। तर, सडकका लागि तोकिएको जग्गाको मापदण्ड छोड्न उहाँहरू नै अटेर गर्नुहुन्छ। सडकले छोएको ठाउँमा जसको जग्गा छैन उनीहरू मापदण्डअनुसार सडक बन्नुपर्छ भन्छन्, जसको सडकसँगै जग्गा जोडिन्छ उसले मापदण्ड पालना गर्न चाहँदैन।
छम्पी–भैंसेपाटी–जावलाखेल मूल सडक कहिल्यै सुधार भएन भन्ने उपभोक्ताको गुनासो पनि छ नि ?
हो, यो समस्या अहिलेको मात्रै होइन। लामो समयदेखि यो सडकको अवस्था सुधार हुन सकेको छैन। सामान्य वर्षा भयो भने सवारी गुडाउन समस्या हुन्छ। ललितपुर महानगरपालिकाको वडा नं २५, बुङमतिसम्म सडक विस्तार भइरहेको छ। त्यहाँदेखि यता गोदावरी नगरपालिकाको ९ नं वडा जोडिन्छ, यही सडकले कान्ति लोकपथलाई जोड्छ। कान्ति लोकपथ जोड्ने छम्पी खण्ड करिव ७ किलोमिटर छ। २२ मिटर फराकिलो सडकका लागि सडक विभागले डीपीआर तयार गरिसकेको छ। छम्पी सडक खण्ड राष्ट्रिय सञ्जाललाई जोड्ने वैकल्पिक मार्ग पनि भएकाले वडाको पहलले मात्रै यो सडकको सुधार असम्भव छ। तर, सडक निर्माण छिट्टै हुनु प¥यो भनेर वडाले नगरपालिका, सडक विभाग र विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
तपाईंको वडाभित्रको पुरानो सरकारी विद्यालय छम्पी माविको शैक्षिक गुणस्तर निकै खस्किएको चर्चा पनि हुँदै आएको छ। सो विद्यालयको शैक्षिक गुणस्तर सुधार्न के पहल भइरहेको छ ?
छम्पी मावि यहाँको पुरानो विद्यालय भए पनि जनअपेक्षाअनुसारको शैक्षिक गुणस्तर नभएको कुरा साँचो हो। एनजीओ आईएनजीओले निजी विद्यालयलाई सहयोग गर्दै आएकाले यो विद्यालयको शैक्षिक अवस्था खस्किन थालेको हो। त्यस्तै संस्थाले विपन्न परिवारका वच्चालाई निजी पढाउन पनि सहयोग गर्ने गरेका छन्।
जसले गर्दा विद्यालयमा विद्यार्थी संख्या पनि घटेको छ। अहिले गोदावरी नगरपालिकाका सबै वडाको शैक्षिक गुणस्तर सुधार्न नगर शिक्षा समिति गठन भएको छ। मैले वडाको नेतृत्व लिनुभन्दा केही समयअघिदेखि छम्पी माविमा अंग्रेजी माध्यममा पठनपाठन शुरू भएको थियो, अहिले वडाले सो अभ्यासलाई निरन्तरता दिँदै अतिरिक्त कक्षा पनि थपिएको छ। अंग्रेजीमा कक्षा शुरू भएपछि अहिले विद्यार्थी भर्नामा केही सुधार भएको छ।
छम्पी मन्दिर निकै पुरानो भए पनि परिचय फराकिलो भएन, मन्दिरको मर्मत सम्भारमा पनि ध्यान दिइएको छैन भन्ने गुनासो पनि निकै थियो। अहिले के भइरहेको छ ?
यही मन्दिरका कारणले यहाँको बस्ती चिनिएको छ, विद्यालय पनि सोही नामबाट सञ्चालन हुँदै आएको छ। हो, वर्षौंसम्म यो मन्दिर खुला थियो, व्यवस्थित थिएन। अहिले वडा कार्यालयको पहलमा प्यागोडा शैलीमा मन्दिर निर्माण भएको छ। मन्दिरको जग्गा करिव ४ रोपनी छ। वडाबासीसँगको सहकार्यमा मन्दिर र मन्दिरको जग्गा व्यवस्थित गर्न वाल लगाउने काम भइरहेको छ।
प्रतिक्रिया