४१ प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्राविधिक प्रहरी नायब उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा दज्र्यानी चिह्नद्वारा सुशोभन गर्नुभएको छ।

दज्र्यानी चिह्न सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले संगठनलाई आधारभूत रूपमा बलियो र गतिशील बनाउन प्राविधिक प्रहरी कर्मचारीको अहम् भूमिका रहेकाले संगठन र सेवाप्रतिको निष्ठा, आफ्नो क्षमता, व्यावसायिकता, इमानदारिता, सार्थक र सकारात्मक सोचसहित संगठनको श्रीवृद्धितर्फ लाग्नुपर्ने बताउनुभयो। प्राविधिक सेवा सपोर्टको क्षेत्र मात्र नभएकाले सबै मिलेर सकारात्मक सोचका साथ काम गरी संगठन बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय संकल्पलाई मनन गरी नेपाल प्रहरीको तर्फबाट पूर्ण कटिबद्ध भई काम गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो– ‘संस्थागत विकास र सुशासनका लागि सबैजना दृढ संकल्पित हुनुस्।’ संगठनको गरिमा बढाउने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने, शान्ति सुरक्षा कायम गर्ने, कानुन कार्यान्वयन गर्नेलगायत नेपाल प्रहरीले निभाउनुपर्ने भूमिकाका विषयमा संगठनले आफ्नो दायित्व सक्रियतापूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै उहाँले यसलाई सबैले मनन गर्नुपर्ने बताउनुभयो। हरेक चुनौती र समस्याको समाधान संगठनभित्रै खोज्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले संगठनको मर्यादा र मूल्य मान्यता कायम राख्न आफ्नो काम र क्षमतामा विश्वास गरी संगठनप्रति पूर्ण समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो।

नेपाल प्रहरीले ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी कर्मचारी पनि आफ्नो घर परिवारदेखि नै टोल–टोलमा खटिएर यसको सफलतामा योगदान दिन उहाँले आग्रह गर्नुभयो। प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन जग्गा प्राप्ति, निर्माण कार्य, थप प्रहरी विद्यालय स्थापना, प्रहरी अस्पतालको स्तरोन्नतिलगायतका काममा संगठन सक्रियतापूर्वक लागेको र यसलाई अझै गति प्रदान गर्न हरेक प्रहरी कर्मचारी आ–आफ्नो जिम्मेवारीमा त्रुटिरहित तरिकाले केन्द्रित रही योगदान दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायब उपरीक्षक दीपकराज अवस्थीले पदोन्नतीले मनोबल अझै उच्च भएकाले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न आफूहरू कटिबद्ध रहने उल्लेख गर्नुभयो। पदोन्नति हुनेहरूमा प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायब उपरीक्षकमा १२ जना र प्राविधिक प्रहरी नायब निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षकमा २९ जना गरी ४१ जना रहनुभएको छ। पदोन्नति भएका ४१ जना प्रहरी अधिकृतमध्ये ३८ जना उक्त कार्यक्रममा दज्र्यानी चिह्नद्वारा सुशोभित हुनुभएको छ भने प्राविधिक प्रहरी नायब उपरीक्षक १ र प्राविधिक प्रहरी निरीक्षक २ जना गरी ३ जना हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ।